नेपाल आउने पर्यटक अगस्टमा झण्डै १९ प्रतिशतले बढे

फाइल तस्बिर

काठमाडौँ – अघिल्लो वर्षको तुलनामा यो वर्षको अगस्ट महिनामा पर्यटकको आगमन झण्डै १९ प्रतिशतले बढेको देखिएको छ । हवाई तथा स्थल मार्गबाट अउने पर्यटकको संख्यामा गएको वर्षको यहि अवधिमा भन्दा केही बढेको देखिएको पर्यटन बोर्डले जनाएको छ ।

गएको अगस्ट महिनामा नेपालमा ८७ हजार ६७९ जना पर्यटक आएको बोर्डले जनाएको छ । यो अघिल्लो वर्षको यहि अवधिको भन्दा झण्डै १५ हजार बढी हो ।

गएको वर्षको अगस्ट महिनामा ७३ हजार ७७८ पर्यटक हवाई तथा स्थल मार्ग भएर नेपाल आएका थिए । क्षेत्र गत हिसाबमा सबै भन्दा धेरै सार्क देशका नागरिक नेपाल आएका छन् ।

अगस्ट महिनामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका गरी ३८ हजार ९७२ पर्यटक नेपाल आएका छन् । यसमा सबै भन्दा धेरै भारतीय छन् र त्यसपछि श्रीलंकन । अगस्टमा झण्डै २० हजार भारतीय र झण्डै १७ हजार श्रीलंकनले नेपाल भ्रमण गरेका छन् ।

यस्तै अरु एसियाली देशबाट नेपाल भ्रमण गर्नेमा सबैभन्दा अघि चिनियाँ नागरिक रहेका छन् । गएको अगस्ट महिनामा १२ हजार भन्दा बढी चिनियाँ नागरिकले नेपाल भ्रमण गरेका छन् र यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच हजार बढी हो ।

युरोपेली देशको कुरा गर्दा बेलायत, स्पेन र इटालीका नागरिक बढी नेपाल आएका छन् । अगस्टमा ३६ सय बेलायती, ३५ सय स्पेनिस र २१ सय इटालियनले भ्रमण गरेका छन् ।

यस्तै यो अवधिमा ४६ सय अमेरिकी नागरिक पनि नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । गएको वर्ष भन्दा यो वर्षको अगस्ट महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १८.८ प्रतिशतले बढेको देखिएको छ ।

असोज ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्