ट्रम्पलाई फेरि भेट्न आतुर किम

उत्तर कोरियाका नेता किम जोङ–उन परमाणु निशस्त्रिकरणको प्रक्रिया चाँडो टुंग्याएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो वार्ता गर्नका लागि आतुर रहेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इनले बताएका छन् ।

उत्तर कोरियाको ऐतिहासिक तीन दिने भ्रमण गरेका दक्षिण कोरियाली राष्ट्रपति मुनका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओको भ्रमण चाँडो होस् भन्ने किमको चाहना रहेको छ ।

अमेरिकी विदेश मन्त्री पोम्पेओले यसअघि उत्तर कोरियासँगको वार्तालाई पुनः निरन्तरता दिन तयार रहेको बताएका थिए । किम र मुनबिच बिस्तृत सम्झौतामा हस्ताक्षर भएपछि पोम्पेओको वार्तालाई निरन्तरता दिने सम्बन्धी भनाई आएको थियो ।

पोम्पेओका अनुसार अमेरिका उत्तर कोरियाको परमाणु निशस्त्रिकरण सन् २०२१ सम्म सकियोस् भन्ने चाहन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमबिच गएको जुनमा सिंगापुरमा ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबिच वार्ता हुँदै आएका थिए ।

गएको जुलाईमा उत्तर कोरियाले परमाणु कार्यक्रमलाई निरन्तरता दिइरहेको खबर आएपछि वार्तामा ‘ब्रेक’ लागेको छ । तर अब दक्षिण कोरियाका राष्ट्रपतिको भ्रमणपछि वातावरण सकारात्मक बनेको देखिएको छ ।

उत्तर कोरियाको भ्रमण सकेर दक्षिण कोरिया फर्किएका मुनले किम ट्रम्पसँगको भेटका लागि आतुर रहेको बताएर कोरियाली प्रायद्विपमा स्थायी शान्तीका लागि सकारात्मक सन्देश प्राप्त भएको जनाउ दिएका हुन् ।

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्