अमेरिकाको सत्ताधारी पार्टीले माग्यो हिन्दु समुदायसँग माफी

अमेरिकामा सत्ताधारी पार्टी रिपब्लिकनले टेक्सासमा रहेका हिन्दु समुदायसँग माफी मागेको छ । केही दिनअघि गणेश चतुर्थीको अवसरमा स्थानीय पत्रिकामा हिन्दु समुदायलाई आफूतर्फ आकर्षित गर्ने उद्देश्यसहित रिपब्लिकन पार्टीले भगवान गणेशको चित्रसहितको विज्ञापन छापेको थियो ।

टेक्सासमा रहेको हिन्दु समुदायलाई आफू तर्फ तान्न गरिएको विज्ञापन अन्ततः रिपब्लिकनका लागि माफीको कारण बनेको छ, किनकी विज्ञापनले हिन्दु समुदायलाई आकर्षित गर्नुको साटो उनीहरुले आफ्ना अपमान भएको महसुस गरे । रिपब्लिकन पार्टीले विज्ञापनमा भगवान गणेशको चित्रसहित ‘तपाईँ गधाको पूजा गर्नु हुन्छ कि हात्तीको ? रोजाई तपाईको ।’ भनेर लेखिएको थियो ।

रिपब्लिकन पार्टीको प्रतिक अर्थात चुनाव चिन्ह हात्ती हो भने डेमोक्र्याटिक पार्टीको प्रतिक वा चुनाव चिन्ह गधा हो । टेक्सासमा रहेका भारतीय–अमेरिकी समुदायले विज्ञापनमा भगवान गणेशको प्रयोग गरिनु अपमान रहेको बताएका छन् । विज्ञापन स्थानीय भारतीय–अमेरिकी पत्रिकामा प्रकाशित भएको थियो ।

विरोध चर्किँदै गएपछि रिपब्लिकन पार्टीको स्थानीय कमिटिले हिन्दु मूल्य मान्यतामाथि प्रहार गर्नु वा त्यसको अपमान गर्नु विज्ञापनको उद्देश्य नरहेको भन्दै माफी मागेको छ ।

विज्ञापनमा भगवान गणेशका विभिन्न अंगहरुलाई विभिन्न संकेतका रुपमा प्रयोग गरिएको थियो । गणेशको ठूलो टाउकोलाई बिस्तारित सोच, ठूला आँखालाई दूरदर्शीता, ठूला कानलाई अरुका कुरा सुन्ने क्षमता तथा ठूलो पेटलाई राम्रा र नराम्रा सबै कुरालाई शान्तीपूर्ण रुपमा पचाउन सक्ने क्षमताका रुपमा परिभाषित गरिएको थियो ।

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्