डरलाई जित्ने उपायहरु

अहिलेको परिस्थितिबाट बालिकाहरुलाई त्रस्त नबनाउँ

काठमाडौँ – सानो उमेरका बालिका तथा किशोरीमाथि बलात्कारसहितका यौन हिंसाका घटना पछिल्लो समय बढ्दै गएको छ ।

बलात्कारपछि हत्यासम्म गर्ने गरेका घटना बाहिर आएका छन् । यसमा पीडितले न्याय पाउने वातावरण त्यति बनेको देखिएको छैन भने अनुसन्धान प्रक्रिया पनि आलटाले भएको भन्दै आलोचना भइरहेको छ ।

बढ्दै गएको बलात्कारसहितका यौनजन्य हिंसा र पीडितलाई न्याय तथा दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रियामा ढिलाइ भइरहँदा बालिका तथा परिवारमा मनोवैज्ञानिक असर पर्दै गएको देखिएको छ ।

अहिले तत्कालीक प्रतिक्रियाको रुपमा देखिएको डरको व्यवस्थापन चाँडो गर्न नसकिएमा भविष्यमा जटिल खालका मनोवैज्ञानिक असर पर्न सक्ने विज्ञले बताउने गरेका छन् ।

यहि सन्दर्भमा हामीले मनोविद विनोद पौडेलसँग बलात्कारका घटनाका कारण बालिका तथा किशोरी र परिवारमा बढ्दै गएको डर, त्यसको असर र सम्भावित व्यवस्थापन उपाय बारे कुराकानी गरेका छौँ ।

बलात्कारसहितका यौन हिंसा र त्यसले निम्त्याएको डरको अवस्था कस्तो छ ?


अहिले दैनिकजसो कुनै न कुनै ठाउँमा बलात्कार वा बलात्कार पछि हत्या भएका घटना बाहिर आउन थालेका छन् । अझ पीडित हुनेमा सानो उमेरका बालिका वा किशोरी छन् । यस्ता घटनाले मनोवैज्ञानिक त्रास वा डर हुनु स्वभाविक हो । अपराधिको पहिचान नहुनु, अनुसन्धान प्रक्रिया राम्रो नहुनुले पनि साना छोरीहरु र उनीहरुका बुवामाआमामा डरले आकार बढाउँदै लगेको छ । बालिका र बुवाआमामा पनि घरबाट बाहिर जाँदा केही भै’पो हाल्छ कि भन्ने डर बढेको देखिएको छ ।

बुवाआमाले विशेष गरी छोरीहरुलाई पछिल्लो समय सजग गराउने गरेको पनि पाइन्छ । कतिपय अवस्था घर फर्किनका लागि समय तोक्ने वा कडा रुपमा प्रस्तुत हुने गरेका पनि छन् । यस्तो गर्दा त्यसै मनमा डर लिएका साना बालिका तथा किशोरीहरुमा थप डर फैलाउने जोखिम हुन्छ ।

हप्कीदप्कीको साटो उनीहरुसँग समय निकालेर नियमित छलफल गर्ने, विशेष गरी बेलुकाको समय केही समय निकालेर दिनभरीको गतिविधिबारे चर्चा गर्ने, अपरिचित व्यक्तिसँग अपनाउनु पर्ने सजगता बारे राम्रोसँग बुझाउने गर्न सकिन्छ ।

यस्तै अभिभावक आफैले यस्तो गर, यस्तो नगर भन्नुको साटो सुरक्षात्मक उपायहरु बालिका वा किशोरीहरुबाटै निकाल्न प्रयास गर्ने, उनीहरुलाई मिल्ने साथीहरुसँग कुरा गर्न हौसला दिने गर्दा नकारात्मक सामाजिक परिवेशका कारण उनीहरुको मनमा उत्पन्न भएको डर हटाउन सकिन्छ ।

डरको आँकलन कसरी गर्ने ?


यस्तो अवस्थामा आफ्ना सन्तान (विशेष गरी सानो उमेरका बालिका तथा किशोरीहरु) को व्यवहार राम्रोसँग अभिभावकले अवलोकन गर्नुपर्छ । बालिका तथा किशोरीमाथि बढ्दै गएको बलात्कार तथा हत्याका घटनाले धेरै स्कुले बालिका तथा किशोरीमा पढेको कुरा नबुझ्ने, बाहिर निस्कन डराउने, आफ्नो छाया तथा अलिअलि अँध्यारोमा पनि तर्सिनेसहितका लक्षण देखिन सक्छन् ।

मनोविद विनोद पौडेल

यस्तो डर लामो समयसम्म रहिरह्यो भने चिन्ताको रुपमा विकास हुन सक्छ र यसले मनोसामाजिक समस्या निम्तिन सक्छ । यस्तो जोखिम आफ्ना सन्तानमा देखिएमा बुवाआमाले तत्काल उनीहरुका कुरा सुन्ने, सम्भावनाहरुको कुरा गर्ने तथा उनीहरुलाई मनमा रहेका सबै कुरा भन्न सक्ने वातावरण बनाउनु पर्छ । यस्तै आवश्यक परेमा मनोसामाजिक उपचार (परामर्स) मा लैजान पनि सकिन्छ ।

विद्यालयले पनि आफ्ना विद्यार्थीहरुका व्यक्तित्व अवलोकन गरी डराएका छन् भने सामूहिक रुपमा छलफल गराउने र डरका बारेमा खुलेर बोल्न लगाउने तथा आवश्यक परेको अवस्थामा विज्ञलाई बोलाएर मनोसामाजिक शिक्षाको व्यवस्था गर्नु आवश्यक देखिन्छ ।

बालिका आफैले के गर्न सक्छन् ?


आफूलाई गाँज्दै लगेको डरबाट बाहिर आउनका लागि व्यक्ति स्वयमको भूमिका महत्वपूर्ण हुन्छ । हामीले अहिले विशेष गरी सानो उमेरका बालिका तथा किशोरीमा रहेको डरको कुरा गरेकाले केही बढी अभिभावकले ध्यान दिनु पर्ने हुन्छ । तर बालिका तथा किशोरीको भूमिका पनि उत्तिकै आवश्यक हुन्छ ।

बालिका तथा किशोरीहरुमा आफ्नो मनमा रहेको डर बारे बताउँदा अरुलाई भन्देलान् वा जिस्क्याउलान् भन्ने डर हुन्छ । त्यसलाई हटाउनका लागि अभिभावकले कुरा सुन्ने र उनीहरुलाई बोल्न उत्प्रेरणा दिनु पर्छ । यस्तै बालिकाहरुले पनि आफ्ना मन मिल्ने साथीहरुसँग वा मन पर्ने शिक्षक शिक्षिका वा दाइदिदीसँग कुरा बताउन प्रयास गर्नुपर्छ ।

बोल्न गाह्रो हुने भए उनीहरुले आफूलाई पन पर्ने गतिविधि मार्फत पनि डरलाई बाहिर ल्याउन सक्छन् । यसको राम्रो उपाय चित्र बनाउने, कविता लेख्ने वा मनमा लागेका कुरा डायरीमा लेख्नेसहितका क्रियाकलाप हुन सक्छन् । घरमा अभिभावकले तथा विद्यालयमा शिक्षकहरुले बेला बेलामा यस्ता गतिविधि गराउन सक्छन् ।

डरलाई जति मनमा दबाएर राख्यो त्यति नै त्यसको मनोसामाजिक या मनोवैज्ञानिक जोखिम बढी हुने भएकाले डरलाई बाहिर ल्याउने वा व्यक्त गर्ने वातावरण बनाउनु नै उपयुक्त हुन्छ ।

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्