डिमेन्सिया तथा अल्जाइमर्स रोग लाग्न नदिन…

सांकेतिक तस्बिर ।

डिमेन्सिया मस्तिस्कमा लाग्ने एउटा रोग हो जसले गर्दा कतिपय उच्चस्तरीय मानसिक क्षमतामा साझा प्रकारको क्षय भएर व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भैरहेका गतिविधिहरु प्रतिको जागरुकता, मनन्, हिसाब किताब, नयाँ कुरा सिख्ने क्षमता, बात–विचार तथा स्वविवेकको साथै संवेग, व्यवहार तथा आत्मोत्साहमा पनि ह्रास हुँदै जान्छ। डिमेन्सियामा सबैभन्दा बढी देखिने रोग अल्जाइमर हो। अल्जाइमर रोगको पहिलो पटक १९१५ मा जर्मन चिकित्सक एलोस अल्जाइमर द्वारा सम्बोधन गरिएको थियो। यो अज्ञात कारणको एक बीमारी हो जुन सामान्यतया: मध्य आयु वा जेष्ठ नागरिकको उमेरमा सुरु हुन्छ भनेका थिए।

विश्व भरिमा अल्जाइमर्स रोग सम्बन्धी काम गर्ने संघ संस्थाहरूको छाता संगठन, विश्व अल्जाइमर्स रोग संघ (Alzheimer’s Disease International -ADI) को प्रमुख उद्देश्य विश्व भरिका अल्जाइमर्स रोगबाट पीडित व्यक्ति र तिनका परिवारहरूको जीवन स्तर उकास्नमा मद्दत गर्नु हो। विश्व अल्जाइमर्स रोग संघको २०१५ मा गरेको अध्ययन अनुसार विश्वमा ४६.८ मिलियन अल्जाइमर्स रोगी र २०३० मा बढेर ७४.७ मिलियन र २०५०मा यो संख्या बढेर १३१ं५ मिलियन हुने अनुमान छ। नेपालमा अल्जाइमर्स रोगीहरूको सङ्ख्या २०१५ मा ७८,००० थियो र प्रत्येक २० वर्षमा यो संख्या दोब्बर हुने अनुमान लगाइयो। अध्ययनले देखाउँछ कि भारतमा लगभग ४ मिलियन व्यक्ति यो समस्याबाट ग्रसित छन्।

डिमेन्सिया विभिन्न किसिमका हुन्छन्। त्यस मध्ये अल्जाइमर्स रोग सबैभन्दा बढी देखिन्छ र अधिकांश तह ६५ वर्ष माथिका जेष्ठ नागरिकमा पाइन्छ। विश्वमा करिब ९२८ मिलियन जनसंख्या जेष्ठ नागरिकको श्रेणीमा पर्दछ। यो संख्या २०२५ सम्ममा बढेर १.२ बिलियन हुनसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। चीनमा २०५० सम्ममा ३३० मिलियन जनसंख्या जेष्ठ नागरिकको हुने अनुमान गरिएको छ जुन हाल ११० मिलियन छ। भारतमा २०५० सम्ममा २२७ मिलियन जनसंख्या जेष्ठ नागरिकको हुने अनुमान गरिएको छ जुन हाल ६० मिलियन छ। नेपालको सन् २०११ को जनगणना अनुसार जेष्ठ नागरिकको जनसंख्या करिब १.२ मिलियन छ जुन नेपालको जनसंख्याको करिब ७ देखि ९ प्रतिशत हुन्छ। यसमध्ये ६२ प्रतिशत जेष्ठ नागरिकको संख्या विकासोन्मुख देशहरुमा रहेको तथ्यांक छ। यो संख्या सन २०५० सम्ममा ८० प्रतिशत पुग्ने अनुमान गरिएको छ।

डिमेन्सियाका लक्षणहरुहरु निम्न प्रकार छन्:  स्मरण शक्तिको ह्रासले साह्रै भुलक्कड भई दैनिक जीवन यापनमा कठिनाइ, खासगरी भर्खरैको घट्नाहरु र व्यक्तिका नामहरु समेत बिर्सनु, तर्क गर्ने क्षमता हराउनु तथा सामान्य समस्याहरु पनि समाधान गर्न नसक्ने, सधैँ गरेका घराइसी, व्यवसायिक अथवा सामान्य काम गर्न पनि असमर्थ हुने, समय तथा स्थानको ज्ञान हराउनु, आँखाले देखेका कुराहरु नचिन्नु तथा नजिक–टाढाको दूरी अथवा सम्बन्ध छुट्याउन नसक्नु, कुराकानी गर्दा अथवा लेख्ने बेलामा चाहिएको शब्द नभेटिनु, सामानहरु अलपत्र पारी चाहिएको बेलामा भेट्न नसक्नु, स्वविवेक शक्ति क्षीण हुनु अथवा गुम्नु, घरायसी तथा व्यवसायिक क्रियाकलापबाट बिमुख हुनु, व्यक्तिको मूड तथा व्यक्तित्वमा परिवर्तन हुनु।

सन्दर्भ:  विश्व अल्जाइमर्स दिवस (२१ सेप्टेम्बर)

डिमेन्सियाका कारणहरु निम्न प्रकार छन्। जेनेटिक्स, डाउन सिंड्रोम भएका धेरै व्यक्तिहरुमा पछि अल्जाइमर्सको विकास हुने गर्दछ।स्वास्थ्य, पर्यावरण, र जीवन शैली कारकहरू पोषणशील आहार, शारीरिक क्रियाकलाप, सामाजिक संलग्नता र मानसिक उत्तेजक अनुगमनहरू सबै मानिसहरुलाई उनीहरुको उमेर अनुसार स्वस्थ रहन मद्दत पुर्‍याएको छ।

सन् १९९४ देखि हरेक वर्ष २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर्स दिवसको रूपमा मनाउँदै आइरहेको सन् २०१२ देखि हरेक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर्स महिनाको रूपमा मनाउन सुरू गरिएको छ। यो महिनाभर यस रोग सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरूको आयोजना गरिन्छ। नेपालमा पनि २१ तारिखका दिन सरकारी निकाय तथा विभिन्न संघ संस्था लगायत जेष्ठ नागरिक महासंघसँग मिली विश्व अल्जाइमर्स दिवस मनाउने क्रममा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। विश्व अल्जाइमर्स रोग संघ, Alzheimer’s Disease International (ADI) एक विश्व भरिमा अल्जाइमर्स रोग सम्बन्धी काम गर्ने संघ संस्थाहरूको छाता संगठन हो जो विश्व स्वास्थ्य संगठनको आधिकारिक अंग पनि हो। यसका प्रत्येक सदस्य राष्ट्रिय अल्जाइमर्स संस्थाको रूपमा यस्ता रोगबाट पीडित व्यक्ति र तिनका परिवारका लागि काम गर्दछ। विश्व अल्जाइमर्स रोग संघको प्रमुख उद्देश्य भनेको विश्वभरिका अल्जाइमर्स रोगबाट पीडित व्यक्ति र तिनका परिवारहरूको जीवन स्तर उकास्नमा मद्दत गर्नु हो।

रोकथामः

विश्व अल्जाइमर्स दिवसलाई लाञ्छना उन्मूलनका लागि समाज र व्यक्तिहरुलाई काम गर्न उत्प्रेरित गर्ने महत्वपूर्ण दिनको रुपमा प्रयोग गर्न सकिन्छ। यस सम्बन्धी अज्ञानता कम गर्न समुदायमा आधारित मनोशिक्षा सम्बन्धी कार्यक्रम समाजका विभिन्न समुदाय जस्तैः शिक्षा, उमेर, लिङ्ग, धर्म, सस्कृति आदिमा दिनु आवश्यक छ। व्यक्तिको मनोवैज्ञानिक पक्षलाई घर परिवार र साथीहरुबाट प्रोत्साहन, हौसला, एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्श, मनोचिकित्सा एवं उपचारबाट समयमै अल्जाइमर्स रोगको बढदो क्रमलाई रोकथाम गर्न सकिन्छ। स्वस्थ्यकर जीवन शैली, नियमित व्यायाम, सन्तुलित तथा पौष्टिक आहार, सकरात्मक सोच तथा उत्पादनमूलक क्रियाकलापको माध्यमबाट अल्जाइमर्सको शिकार हुनबाट बच्न सकिन्छ।

डा. नरेन्द्रसिंह ठगुन्ना

शारीरिक क्रियाशीलताः शारीरिक क्रियाकलाप तथा नियमित ब्यायामले उच्च रक्तचाप र मोटोपनलाई सन्तुलनमा राख्नुका साथै मधुमेह र केही प्रकारका क्यान्सर कम गर्नमा मद्दत गर्दछ। शारीरिक रूपले क्रियाशील रहँदा हामी राम्रो महसुस गछौं र यस्ता क्रियाकलाप हामी आफ्नो परिवार र साथीहरूसँग नियमित रूपले गर्न सक्छौं।

मस्तिष्कलाई चुनौती दिने अभ्यास गर्नेः मस्तिष्कलाई चुनौती दिने खालका नौलो नौलो अभ्यास गर्नाले नयाँ मस्तिष्क कोषिकाहरू निर्माण गर्न र तिनीहरू बीच सम्बन्ध स्थापित गर्न मद्दत गर्दछ। बिर्सने रोगको शिकार भैसकेको पछि यसो गर्न प्रायः सम्भव नहुने हुनाले अहिलेदेखि नै नयाँ खालका अभ्यासहरू जस्तै: नयाँ भाषाहरू सिक्ने, नयाँ शोख पाल्ने, कोठेपद खेल्ने बानी बसाल्ने, खेलकुद आदि जस्ता क्रियाकलापहरूमा सहभागी हुन प्रयास गर्नु होस्।

मुटुको हेरविचार गर्ने: धूम्रपान, उच्च रक्तचाप, रगतमा बढी बासोको मात्रा, मधुमेह तथा मोटोपनाले शरीरमा भएको रक्त नली र रक्त कोषिकाहरुलाई हानि पुर्‍याउँछ।  यसका कारण हुनसक्ने हृदयघात र पक्षघात जस्ता खतरालाई बढाउँछ। अनुसन्धानले पनि यी अवस्थाहरुको कारण बिर्सने रोगको खतरालाई बढाउनमा मद्दत गर्दछ भन्ने देखाइसकेको छ। स्वस्थ जीवन शैलीले यी समस्याहरुबाट छुटकारा पाउन सकिन्छ।

सन्तुलित र पोषिलो खानाः सन्तुलित र पोषिलो खानाले दिमाग र शरीर दुबैलाई क्रियाशील बनाई राख्दछ। सागपात, गेडागुडी, फलफूल तथा माछाको नियमित सेवनले बिर्सने रोगको खतरालाई कम गर्नमा मद्दत गर्दछ। बढी चिल्लो तथा बोसो भएको, धेरै चिनी तथा नुन भएको खाना खानाले मुटुको रोगको खतरालाई बढाउनमा मद्दत गर्दछ, त्यसैले अस्वस्थकर खानाबाट टाढै रहनु राम्रो हुन्छ।

सामाजिक सहभागिता बढाउनेः सामाजिक क्रियाकलापहरुमा सहभागिताले तपाईं हाम्रो मनस्थितिलाई स्वस्थ राख्न, उदासीपनलाई घटाउन र बिर्सने रोगको खतरा कम गर्नमा मद्दत गर्दछ। परिवार साथीहरुसँग भावना साटासाट, चाडपर्व, जमघट, पिकनिक, समारोह आदिमा सरिक हुने प्रयास गर्नु होस्। यसबाट आनन्द प्राप्त गर्नुका साथै शारीरिक क्रियाकलाप तथा नियमित व्यायामलाई समेत निरन्तरता दिन सक्नु हुने छ।

(डा. ठगुन्नाले मनोविज्ञानमा विद्यावारिधि गरेका छन्। उनी मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुन् भने त्रिचन्द्र कलेज घन्टाघर, काठमाडौँमा एम ए मनोविज्ञान कार्यक्रममा अध्यापन गर्छन्।)

असोज ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्