धनगढी – प्रदेश नम्बर ७ मा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । मुलुकी संहिताको विरोधमा चालक आन्दोलित हुँदा नेपाल आयल निगमले प्रदेश ७ का पेट्रोल पम्पमा असोज २ गतेदेखि पेट्रोलियम पदार्थ वितरण गर्न सकेको छैन । जसका कारण पेट्रोलियम पदार्थको चरम अभाव भएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीमा पर्याप्त पेट्रोलियम पदार्थ भण्डारण भए पनि मुलुकी संहिताले अन्यायमा परेको भन्दै चालकहरू आन्दोलित भएपछि प्रदेश ७ मा पेट्रोलियम पदार्थको चरम अभाव भएको हो ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सर्पराज शर्माका अनुसार आयल निगमसँग पर्याप्त पेट्रोलियम पदार्थ मौज्दात भए पनि ढुवानीमा समस्या भएको छ ।

निगमसँग २० लाख लिटर डिजेल र १ लाख ५० हजार लिटर पेट्रोल मौज्दात रहेका उनले बताए ।

प्रदेश ७ मा दैनिक एक लाख लिटर पेट्रोल तथा तीन लाख लिटर डिजेलको माग भए पनि चार दिनदेखि कुनै पनि पेट्रोल पम्पका ट्याङ्कर चालकले तेल नलिँदा प्रदेश ७ मा पेट्रोलियम पदार्थको चरम अभाव भएको शर्माले जानकारी दिए ।

सरकारसँगको सहमतिपछि प्रदेश ७ मा अन्य सवारी चालकले गाडी चलाए पनि ट्याङ्कर चालकले भने शनिबार बिहानसम्म ट्याङ्कर चलाएका छैनन् ।

उनीहरूले सेवा सुविधाको समेत माग गर्दै ट्याङकर चलाउन मानिरहेका छैनन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले ट्याङकर चालकसँग शुक्रबारको छलफल बिना निष्कर्ष टुङगिएकाले शनिबार फेरि छलफल गरिने बताए ।

ट्याङ्कर चालकले शनिबार पनि ट्याङकर नचलाए सेना र प्रहरीका चालक प्रयोग गरेर पनि पेट्रोलियम पदार्थ पेट्रोल पम्पमा लगेर बिक्री वितरण गरिने उनको भनाई छ ।

बढ्यो कालो बजारी


प्रदेश ७ मा पेट्रोलियम पदार्थको अभावसँगै कालो बजारी बढेको छ । नेपालमा तेलको हाहाकार भएपछि भारतीय सीमावर्ती बजारमा कालो बजारीमा पेट्रोल र डिजेल बिक्री वितरणमा भइरहेको छ।

भारतका सीमावर्ती बजारबाट पेट्रोल र डिजेल ल्याएर डोकेबजार, हसुलिया लगायतका व्यापारीले महँगोमा बिक्री वितरण गरिरहेका छन् ।

नेपालमा तेलको हाहाकार भएपछि भारतीय सीमावर्ती बजारमा मंहगोमा पनि तेल हालेर काम चलाउनु परेको उपभोक्ताको गुनासो छ ।

बजारमा चार दिनदेखि पेट्रोलियम पदार्थ नहुँदा कालोबजारी बढेसँगै एक लिटर पेट्रोलको तीन सय रुपैयाँ तिर्न उपभोक्ता बाध्य छन् ।

भारतका बजारबाट पेट्रोलियम पदार्थ ल्याएर महँगो मूल्यमा बिक्री वितरण भइरहेको भन्ने खबर आएकाले त्यसको निगरानी गरिने र कालो बजारी भएको पाइएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

असोज ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्