आत्मरक्षाका लागि महिलालाई किक र पञ्च हान्न सिकाईदै

धनगढी – पछिल्लो समयमा मुलुकमा बढ्दै भएका महिला हिंसा, बलात्कार जस्ता घटनाको न्यूनिकरण गर्ने उदेश्यका साथ महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गरिने भएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो संघको आयोजनामा असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविर धनगढीमा हुने भएको हो ।

महिलाको क्षेत्रमा काम गर्दै आइरहेको आरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद्, क्रियाशील महिला पत्रकार समूहको सहयोगमा आत्मरक्षा सम्बन्धी शिविरको आयोजना गर्न लागिएको शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय गोजुरियो कराते दो संघले जनाएको छ ।

संघका महासचिव प्रकाश चन्दले महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।

‘पछिल्लो समयमा प्रदेश ७ मा मात्रै नभएर देशमै बलात्कारपछि हत्याका घटना बढ्दै गएका छन् । हामी शिविरमा लड्न हैन, किक र पञ्चका माध्यमबाट आत्मरक्षा गर्न सिकाउँछौ ।’ चन्दले भने, ‘कसैले महिलामाथि नराम्रो व्यवहार गर्न खोज्यो त्यसबाट बच्न सक्ने बनाउँछौ ।’
असोज २० गतेबाट महिलाहरूका लागि आत्मरक्षा सम्बन्धी सात दिने शिविरमा प्रदेश ७ का एक हजार महिलाको सहभागिता रहने आयोजनकले दाबी गरेको छ ।

सहभागी एक हजार महिलाबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरूले सम्बन्धित स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्नेछन् ।

चन्दले भने, ‘शिविरमा कम्तीमा पनि एक हजार महिलालाई सहभागी गराउने लक्ष्य छ । त्यसमा बलात्कृत महिलादेखि तेस्रो लिङगी पनि सहभागी हुँदैछन ।’

प्रदेश ७ बाट सुरु गरिने महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविर प्रदेश एकको बिर्तामोडमा समापन गरिने आयोजकले जानकारी दिएको छ । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको ओरेक नेपालका संयोजक विनु रानाले यसलाई अन्य प्रदेश र प्रत्येक स्थानीय तहमा पनि सञ्चालन गरिने बताइन् ।

‘महिलाका लागि आत्मरक्षा सम्बन्धी शिविरलाई अभियान बनाएर सात वटै प्रदेशमा सञ्चालन गर्छौ ।’ उनले भनिन, ‘महिलालाई ढुङगा मुडा हैन, आत्मरक्षाका लागि किक र पञ्च हान्न सिकाउँछौ । यसले महिलामाथि हुने हिंसा न्यूनिकरणमा सहयोग पु¥याउने छ भने सुरक्षित समेत बनाउने छ ।’ शिविर निःशुल्क गरिने पनि संघले जनाएको छ ।

असोज ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्