
काठमाडौं– पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको आत्मवृतान्त ‘न्याय’ सार्वजनिक भएको छ। बुक हिलले प्रकाशन गरेको पुस्तकलाई लेखक सुशीला कार्की, उनका श्रीमान दुर्गा सुवेदी, शिक्षाविद् डा. केदारभक्त माथेमा, चिकित्सा अभियन्ता डा.गोविन्द केसी र वरिष्ठ अभिवक्ता सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका हुन्।
वक्ताहरुले पुस्तकलाई ‘न्यायालय र समाज नियाल्ने झ्याल’ भएको टिप्पणी गरेका छन्। किताबमाथि मुख्य टिप्पणीकारका रुपमा प्रस्तुत भएका वरिष्ठ अधिवक्ता भण्डारीले राज्यका निकायहरुले कसरी काम गरिरहेका छन् भन्ने जानकारी ‘न्याय’बाट छर्लङ्ग हुने बताए।
‘किताबले न्यायालय र राज्यका अरु निकायहरुले कसरी काम गरिरहेका छन् भन्ने तथ्यलाई उजागर गरेको छ। देशमा बढेको भ्रष्टाचार, बेथिति र अराजकतलाई किताबले बाहिर ल्याएको छ,’ भण्डारीले भने।
नेपालको न्यायालयलाई बुझ्ने अहिलसम्मकै सबैभन्दा महत्वपूर्ण पुस्तक भएको उनको टिप्पणी थियो। तीन सय ९६ पृष्ठमा समेटिएको पुस्तकमा कार्कीको जीवन काललाई चार भागमा प्रस्तुत गरिएको छ।
पुस्तकमा कार्कीले वकालत सुरु गर्नुभन्दा अघिको समय, ३१ वर्षसम्म वकालत गर्दाको अवधि, न्यायाधीश र प्रधानन्याधीश भएको अवधि र त्यसपछि सामान्य नागरिकका रुपमा बिताएका दिनलाई विभाजन गरिएको छ।
पुस्तकमा धेरै ठाउँमा कार्कीको निडरपन र हक्की स्वभाव अनुभूत गर्न सकिने भणडारीले उल्लेख गरे।
पुस्तकमाथि टिप्पणी गर्दै डा. गोविन्द केसीले न्यायालयभित्रको बेथिति सार्वजनिक गरेर कार्कीले सर्वसाधरणलाई अर्को न्याय गरेको भन्दै प्रशंसा गरे।
केसीले भने, ‘अदालतभित्रका यथार्थ पेश गरेर अर्को न्याय दिनुभएको छ। यो किताब पढेपछि बिचौलिया, दलाल र माफियाले देश चलाएका छन् भन्ने बुझ्न झन् सजिलो हुन्छ।’ किताबमा कार्कीले प्रधानन्यायाधीश हुँदा भोगका विभिन्न प्रसंगलाई सविस्तार वर्णन गरिएको छ ।
तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको अयोग्यता सम्बन्धी मुद्दा फैसला नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटार बोलाएर दबाब दिएको कार्कीको पुस्तकमा उल्लेख छ।
त्यस्तै आफूमाथि महाअभियोग लगाउँदा पनि नियमित काम गरेको र त्यसबाट कत्ति पनि प्रभावित नभएको प्रसंग कार्कीले पुस्तकमा लेखिकी छिन्।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले पनि न्यायलाई नेपाली भाषामा लेखिएको उत्कृष्ट मध्येको एउटा किताब भएको उल्लेख गरे। माथेमाले कार्कीसँग उच्च नैतिक बल भएकै कारणले ठूला र दबाबपूर्ण फैसला गर्न सकेको पुस्तकबाट जान्न सकिने बताए।
माथेमाले भने, ‘यस पुस्तकमा आत्मकथाबाहेक अरु धेरै विषय समेटिएका छन् । पुस्तक प्रेरणादायी छ।’
पूर्व उपकुलपति माथेमाले समाजमा नैतिकवान मान्छेको खडेरी परेको बेला पुस्तकले निष्ठाको आत्मकथा सार्वजनिक गरेको बताए। ‘समाजमा नैतिकतामा खडेरी परेको बेला यो किताब आएको यो। न्यायले अँध्यारोमा घाम आए जस्तो भएको छ,’ माथेमाले भने।
लेखिका कार्कीका पति दुर्गा सुवेदीले श्रीमती र पुस्तकबाट जीवनको सत्यता जान्न पाएको अनुभव सुनाए। भर्खरै मात्र ‘विमान विद्रोह’ नामक आत्मकथा लेखेर चर्चामा आएका सुवेदीले न्यायालयको बेथिति पुस्तकले बाहिर ल्याएको बताए।
लेखिका कार्कीले किताब जीवनका उतार चढाव जस्ताको त्यस्तै प्रस्तुत गरेको दाबी गरिन्।
प्रकाशकका अनुसार पुस्तकको हार्डकभरको मूल्य नाै सय तोकिएको छ।