यातायातको भाडा १० प्रतिशत बढ्‍यो

काठमाडौं– सरकारले आइतबारबाट लागू हुने गरी यातायातको भाडा बढाउने भएको छ। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिको छलफलले आइतबारबाट लागू हुने गरी १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो।

२०७२ सालदेखि भाडा नबढेको भन्दै इन्धनमा भएको मूल्यवृद्धिलाई मूख्य आधार मानी हाल कायम रहेको भाडा दरमा १० प्रतिशत मूल्यवृद्धि गरी आइतबारबाटै लागू हुने गरी कायम गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गर्ने निर्णय भएको छ।

हाल कायम रहेको भाडादरलाई समायोजन गर्नका लागि यातायात व्यवस्था विभाग, प्राविधिक शाखाका निर्देशकको संयोजकत्वमा सम्बन्धित शाखाका इन्जिनियर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि सम्मिलित समिति गठन गरेको छ।

समितिलाई दुई महिनाभित्रमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन भनिएको छ। आगामी मंसिर २९ गतेसम्ममा सार्वजनिक यातायातको भाडा दर समायोजन गर्ने व्यवस्था विभागले गर्ने निर्णय पनि भएको छ।

यस्तै यातायात व्यवसायी संघ समितिहरुका रोक्का रहेका बैंक खाताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरुको भुक्तानी छिटो छरितो गर्ने व्यवस्था मिलाउन समितिका खाता फुकुवा गर्न गृहमन्त्रालयलाई अनुरोध गर्ने पनि निर्णय भएको छ।

यो निर्णयसँगै दसैंका लागि अग्रिम टिकट बुकिङ लगायत पूर्व निर्णय अनुसार सम्पूर्ण कार्य नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गर्ने सहमति भएको छ। यसअघि शनिबारबाट हुने भनिएको अग्रिम टिकट बुकिङ सरकारले इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायीले रोकेका थिए। भाडा बढाउने निर्णयसँगै भोलिबाटै टिकट बुकिङ खुल्ने भएको छ।

असोज ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्