कहाँ कहाँ छन् प्रकान्डविरुद्ध मुद्धा, प्रहरी भन्छ- सबै जिल्लामा

काठमाडौं- सर्वोच्च अदालतले छाड्ने र प्रहरीले बाहिर निस्कन नपाउँदै पक्राउ गरिहाल्ने श्रृ‌ंखलाले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्ड’ विगत केही महिनादेखि निकै चर्चामा छन्। प्रकान्ड यतिबेला जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन्।

बन्दी प्रत्यक्षिकरण मुद्धामा सर्वोच्च अदालतले छाड्ने आदेश दिएपनि प्रकान्ड सर्वोच्च अदालत परिसरबाट बाहिर निस्कन लाग्दा फेरी पक्राउ परेका थिए। उनीविरुद्ध उदयपुरमा पनि मुद्धा रहेको र उदयपुर प्रहरीले पक्राउ गरि पठाई दिन पत्राचार गरेको भन्दै प्रहरीले प्रकान्डलाई पक्राउ गरेको थियो।

गत साता  प्रकान्ड लगातार पाँचौंपटक सर्वोच्च अदालत परिसरबाटै पक्राउ परेका हुन्। काठमाडौं प्रहरी परिसरले चन्दा आतङ्कको आरोपमा प्रकान्डलाई गत साउन २३ गते ललितपुरबाट पक्राउ गरेको थियो। काठमाडौं प्रहरीले जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालेको केही दिनपछि उनलाई सर्बोच्चले बन्दी प्रत्यक्षिकरणमा छाड्ने आदेश दिएको थियो।

तर उनलाई अदालत परिसरबाटै पक्राउ गरि काभ्रेपलान्चोक लगिएको थियो। बन्दी प्रत्यक्षिकरणमा सर्बोच्चले छाड्ने आदेश दिएपछि प्रकान्ड नुवाकोट, भोजपुर र दाङ प्रहरीको हिरासतमा पुगिसकेका छन्। ‘ प्रकान्ड अहिले देश दर्शनमा छन्। उनिविरुद्ध देशका सबै जिल्लामा अनुसन्धान गर्न मिल्छ’, एक उच्च प्रहरी अधिकृत भन्छन्।

खासगरी संघिय र प्रदेश निर्वाचनका समयमा विप्लव नेतृत्वको नेकपाले देशभर विस्फोटको शृंखला मच्चाएको थियो। संघीय राजधानी काठमाडौंमा मात्र दर्जनौं विस्फोटका घटना भएका थिए।

‘राजनितिक संगठन भएकाले उहाँहरुकै आदेशमा यी घटना भएका हुन्’ प्रहरी भन्छन्। अदालतले अनुसन्धानका लागि म्याद दिने र सर्वोच्चले बन्दी प्रत्यक्षिकरणमा छाड्न आदेश यो शृंखला सम्भवत नेपालमा पहिलोपटक भएको हो। प्रकान्डसम्बन्धी बन्दी प्रत्यक्षिकरणको पछिल्लो आदेशमा सर्वोच्चले सरकारप्रति कटाक्ष गरेको थियो।

विस्फोट,चन्दा आतङ्क लगायत गतिविधी गरिरहेपनि विप्लवको पार्टीलाई राजनितिकरुपमा हेरिनुपर्ने र त्यहि अनुसार समस्या समाधान हुनुपर्ने जानकार बताउँछन्।

‘ यो त अदालत र सरकार दुवैले आफ्नो शक्ती प्रदर्शन गरेजस्तो भयो। यो जुहारीमा राज्यको स्रोत साधनको दुरुपयोग भईरहेको छ। राजनितिक हो भने त्यहि अनुसार अगाडि बढ्नु पर्‍यो। यदी फौजदारी हो भने बलियो प्रमाणसहित प्रस्तुत हुनुपर्‍यो’, एक पुर्व डीआईजी भन्छन्।

प्रहरीले नेकपाका धेरै नेता कार्यकर्तालाई पक्राउ गरेपनि विप्लवलाई भने नियन्त्रणमा लिन सकेको छैन। तत्कालिन नेकपा माओवादीका नेता विप्लवले आफैले पार्टी खोलेर भुमिगतरुपमा गतिविधीहरु गरिरहेका छन्। त्यतिबेलाको नेकपा माओवादी अहिले सरकारमा छ।

पछिल्लोपटक उदयपुरको गाइघाटस्थित प्रस्तावित विमानस्थलमा गत चैत २८ गते भएको एक विस्फोटनको घटनामा अनुसन्धान गर्न प्रकान्डलाई सर्वोच्च अदालत परिसरबाट त्यहाँ लगिएको छ। सरकारले विद्रोही समूहहरुसँग वार्ता गर्न समिती बनाएपनि विप्लवको नेकपासँग सम्वाद अगाडि बढ्न सकेको छैन।

सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोम प्रसाद पाण्डेले  ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए ।

 

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्