लामो भिएआरपछि गोलले मान्यता पायो, रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको लिगमा सिजनको पाँचौँ खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिडले स्पानियोललाई १–० ले हराएको हो ।

रियल मड्रिडको जितमा मार्को एसेन्सिओले गरेको गोल नै निर्णायक बन्नयो । मार्कोले ४१ औँ मिनेटमा गरेको गोलले भिडियो एसिस्टेन्स रेफ्री, भिएआरको सहायताले लामो रिभ्यूपछि मात्रै मान्यता पाएको हो ।

लुका मोड्रिकको गोल गर्ने प्रयास सफल भएन, लुकाले प्रहार गरेको बल मार्कोतिर आयो । उनले त्यसलाई गोलमा परिणत गरे । रेफ्रीले यो गोल रहे नरहेको हेर्न लामो रिभ्यू प्रक्रिया अपनाए र अन्ततः गोलको मान्यता दिए ।

बोर्जा इग्लेसिएसले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो । यस्तै सर्जियो रामोसको प्रहार रियल मड्रिडका पूर्व गोलरक्षक डिएगो लोपेजले सुन्दर बचाउ गरे ।

मार्कोको गोल नै रियल मड्रिडको जितमा निर्णाक बन्यो । जितपछि रियल मड्रिड पाँच खेलबाट १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १२ अंक छ ।

ला लिगा अन्तर्गत राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले गेटाफेलाई २–० ले हरायो । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको गेटाफेलाई हराउने क्रममा एथ्लेटिको मड्रिडले पहिलो हाफमा उपहार गोल पायो भने दोस्रो हाफमा एक गोल गरेको हो ।

अरु खेलमा एइबरले लेगानेसलाई १–० तथा एलाभेसले रायो भालेकानोलाई ५–१ ले हरायो । सेल्टा डी भिगो र रियल भालाडोलिडले ३–३ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्