अमेरिकाको साथ पाएका खाडी राष्ट्रले सैन्य परेडमा आक्रमण गराए : इरान

२५ जनाको ज्यान जाने गरी सैन्य परेडमा भएको आक्रमणमा अमेरिकाको साथ पाएका खाडी राष्ट्रको हात रहेको इरानका नेताले आरोप लगाएका छन् ।

इरानको दक्षिण पश्चिमी शहर अहवाजमा सैन्य परेड भइरहेका बेला शनिबार बन्दुकधारीले आक्रमण गरेका थिए । आक्रमणमा बालिबालिकासहित २५ जनाको ज्यान गएको पुष्टि भएको छ ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकाका कठपुतलीहरुले इरानमा असुरुक्षाको अवस्था सिर्जना गर्न चाहेको बताएका छन् ।

सरकार बिरोधी अरब समूह, एहवाज नेशनल रेसिस्टेन्स र इस्लामिक स्टेट, आइएसले आक्रमणमा आफूहरुको संलग्नता रहेको दाबी गरेका छन् । तर कुनै पनि समूहले आक्रमणमा आफ्नो संलग्नता रहेको प्रमाण पेश गर्न सकेका छैनन् ।

इरानका विदेश मन्त्री जाभेद जारिफले विदेशीबाट परिचालितहरुले आक्रमण गरेको आरोप लगाएका थिए । यसरी आक्रमणका लागि पैसा दिनेमा अमेरिका रहेको उनको आरोप छ ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्