प्रदेश ७ मा पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु, सहज हुन केही दिन लाग्ने

धनगढी – चालकको आन्दोलनका कारण रोकिएको पेट्रोलियम पदार्थको बिक्री वितरण प्रदेश ७ मा सुरु भएको छ । शुक्रबार अन्य सवारी साधानका चालकले गाडी चलाए पनि ट्याङकर चालकले भने चलाएका थिएनन् ।

त्यसपछि प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालक प्रयोग गरेर पेट्रोलियम पदार्थ पेट्रोल पम्पमा पुर्याइएपछि शनिबार बिहानैदेखि बिक्री वितरण सुरु गरिएको थियो ।

तर, आइतबारसम्म पनि पेट्रोल र डिजेल सहज रुपमा पाउन सकिएको छैन । पेट्रोलियम पदार्थको अभाव हटन केही लाग्ने नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

चार दिनदेखिको चालकको आन्दोलनका कारण प्रदेश ७ मा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

आन्दोलन फिर्तापछि शनिबारदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सुरु गरिए पनि सहज भने हुन सकेको छैन । पेट्रोलियम पदार्थका लागि घण्टौँ लाईनमा लाग्न बाध्य भएको धनगढी–२ सन्तोषी टोलका वेदप्रसाद जोशीले बताए ।

दुई घण्टा लाइन लागेर पेट्रोल हालेको जुगेडाका खेमबहादुर तामाङले बताए । प्रदेश ७ मा दैनिक एक लाख लिटर पेट्रोल तथा तीन लाख लिटर डिजेलको माग भए पनि शुक्रबार र शनिबार न्युन मात्रामा मात्रै पेट्रोल पम्पमा तेल वितरण गरिएको छ ।

जसका कारण सवैसाधारण पेट्रोलियम पदार्थका लागि सास्ती खेप्न बाध्य छन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले पेट्रोलियम पदार्थको अभाव हटन केही दिन लाग्ने नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शर्पराज शर्माले बताए । बजारमा तेलको अभाब भएसँगै बजारमा कालो बजारी समेत बढेको छ ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्