सिके राउतको अभिव्यक्ति विरुद्ध धनगढीमा प्रदर्शन

सिके राउतको अभिव्यक्तिविरुद्ध धनगढीमा गरिएको प्रदर्शन । तस्बिर : दिनेश ठकुल्ला /देश सञ्चार ।

धनगढी – सिके राउतको अभिव्यक्तिविरुद्ध धनगढीमा प्रदर्शन गरिएको छ । असोज ३ गते संविधान दिवसका दिन राउतले दिएको ‘मधेश नेपाल होइन’ भन्ने अभिव्यक्तिका विरुद्ध स्वतस्फुर्त युवा समूह धनगढीले प्रदर्शन गरेको हो ।

र्‍यालीमा युवाहरुले ‘अखण्ड नेपाल हुनुपर्ने, विखण्डनकारीलाई कारबाही गर्नुपर्ने, हिमाल पहाड तराई कोही छैन पराई, सिके रावतको अभिव्यक्तिप्रति सरकार किन मौन ?,’ लगायतका प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए ।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएकोे प्रर्दशन पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै युवाहरुले सिके राउतको अभिव्यक्तिले सबै नेपालीको मन दुखेको बताएका थिए ।

उनीहरुले मधेश पनि नेपाल नै रहेको र मधेशलाई विखण्डन गर्ने सोच भएका व्यक्तिलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन ।
नेपालको राष्ट्रियता, सार्वभौमसत्तामाथि नै आक्रमण हुने अभिव्यक्ति दिंदा समेत सरकारले कुनै कदम चाल्न नसकेकोले आन्दोलनमा उत्रनुपरेको उनीहरुले बताएका छन् ।

प्रदर्शनका क्रममा नेपालको राष्ट्रिय झण्डा बोकेका उनीहरुले सरकार विरुद्ध पनि नाराबाजी गरेका थिए ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्