‘ओली सरकारको चमत्कारः महंगी र बलात्कार’

निर्मला हत्याकाण्डबिरुद्ध जुलुसका सहभागीहरु। फाइल तस्बिर

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाइएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

ज्ञापन पत्र बुझाउनु अघि संघले माइतीघर मण्डलादेखि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोधी र्‍याली निकालेको थियो । विरोध र्‍यालीमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

र्‍यालीमा सहभागी संघका नेता, कार्यकर्ताहरुले ‘केपी ओली सरकारको चमत्कारः महंगी र बलात्कार’ लेखिएको व्यंग्यात्मक प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्