सूचना प्रविधिको क्षेत्रमा ८५ हजारलाई रोजगारी, पहिले समस्या सुल्झाउन सुझाव

काठमाडौं– सूचना प्रविधिको क्षत्रमा ८५ हजारलाई रोजगारी दिन सकिने एक कार्यदलले जनाएको छ। श्रममन्त्रीले यो क्षेत्रमा रोजगारीको सम्भावना अध्ययन गर्न बनाएको कार्यदलले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो सम्भावना रहेको औंल्याएको हो।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले तर यी रोजगारी दिनु पहिले अहिलेका समस्या सुल्झाउन सुझाव दिएको छ।

प्रतिवेदनमा मुख्य समस्याका रुपमा विदेशी लगानीको प्रकृयामा रहेको जटिलता, भेण्डर पेइमेन्ट प्रोसेसमा रहेको कठिनाइ, स्टक तथा फर्गिन करेन्सीमा सिमितता, विदेशबाट परामर्शदाता ल्याउने विषयको जटिलता, स्वदेशमा रहेका दक्ष जनशक्तिको पलायन, न्यून जनशक्तिको उपलब्धता, इन्टरनेटको असहजता, विद्युतको नियमित आपूर्तिको अभाव, सूचना प्रविधिसँग सम्बन्धित वातावरणको अभाव हुनु जस्ता समस्याहरु सुल्झाउनु पर्ने बताएका छन्।

विस्तृत अध्ययन गरी सुझाव पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत साउन ९ गते मन्त्रालयका कार्यदल बनाएका थिए । सूचना प्रविधिको क्षेत्रमा हाल एक हजार कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ। यो क्षेत्रमा हाल १४ हजार ५ सय जनशक्ति कार्यरत रहेका छन्।

कार्यदलले इन्टरनेटलाई सुलभ बनाई कम्पनीहरुलाई छुट प्रदान गर्ने, भिसा प्रक्रियाको सरलीकरण गर्नुपर्ने, मानव संशासन विकास गर्नुपर्ने लगायतका विषयहरुमा सुझाव दिएको श्रममन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिवेदनमा नेपालको आइपी बीपीओ क्षेत्रलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, सूचना प्रविधि पार्क सञ्चालन गर्ने, गुणस्तर प्रमाणपत्र जारी गर्ने, तथा सूचना प्रविधी कम्पनी सञ्चालन गर्दा अरु कम्पनी भन्दा फरक ढंगले हेर्ने गरी कार्य गर्नुपर्ने सुझाव समेत उल्लेख छन्।

 

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्