संविधान विरोधी पोष्ट फेसबुकमा शेयर गर्दा अदालतको जागिर खोसियो

जनकपुरधाम- संविधान विरोधी पोष्ट फेसबुकमा शेयर गरेको भन्दै जिल्ला अदालतले एक जना कर्मचारीलाई जागिरबाट निकालिएको छ।

संविधान दिवसका दिन संविधान विरोधि पोष्ट फेसबुकमा शेयर गरेको भन्दै जिल्ला अदालत धनुषामा करारमा खरिदार पदमा कार्यरत गुञ्जा रायलाई जागिरबाट निकालिएको छ।

आइतबार जनकपुरमा पत्रकार सम्मलेलन गरी रायले असोज ३ गते संविधान दिवसका दिन ‘कालो दिवस’का पक्षमा रहेको पोष्ट फेसबुकमा शेयर गरेकै निहुँमा आफूलाई जागिरबाट निकालिएको बताएकी छिन्।

‘असोज ४ गते अदालतका श्रेस्तेदार राधाकान्त झाले आफूलाई किन संविधान विरोधी पोष्ट शेयर गरेको भनेर सोधेको र त्यसको भोलिपल्ट झाले मलाई करारको समयसीमा सकियो भन्दै अवकाश पत्र थमाएको,’ उनले पत्रकार सम्मेलनमा बताएकी छिन्।

‘यदि मैले फेसबुकमा ‘कालो दिवस’को अर्काको पोष्ट शेयर गरेकी छु भने मलाई स्पष्टिकरण सोध्नु पुर्थ्यो। तर, स्पष्टीकरणको मौका नदिई मलाई एकाएक जागिरबाट निष्काशन गरेको रायले बताइन्।

असोज ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्