लगातार १६ वर्षदेखि नेपालको ‘स्ट्रङगेस्ट’ महिला

लगातार १६ वर्षदेखि नेपालको ‘स्ट्रङगेस्ट’ महिला

काठमाडौँ–

सदरमुकाम बेनीबाट करिब एक दिन ठाडो उकालो बाटो पैदल हिँडेपछि मेरो घर पुगिन्छ। जंगलको बीचमा छ घर। छेउछाउमा अन्य तीनवटा घर छन्। नजिकैको गाउँ  पुग्न एक घन्टा समय लाग्छ। गाउँमा रहेको थोरै जमिनमा पाँच जना छोरा छोरी पाल्न गाह्रो हुने सोचेर बुवाले जंगलको बीचमा गएर घर बनाउनु भएको रे। मासु भात खान र नयाँ कपडा लगाउन सधैँ दशैं नै कुर्नुपर्ने। २०४५ साल अघि घर थिएन,गोठमै हुर्किएका हाैँ। कान्छो भाइ जन्मिएपछि भिरका ढुंगा बोकेर ल्याएर घर बनाएका थियौं। अहिले सम्झँदा लाग्छ–त्यो दुखबाट म कसरी यहाँसम्म आइपुगेँ ?

विज्ञापन

तपाईँलाई लाग्न सक्छ, कुनै नाटकको स्क्रिप्टबाट एउटा पात्रले आफ्नो ग्रामीण परिवेशसहितको पृष्ठभूमि ‘न्यारेट’ गर्दै छ। ‘हुन पनि होे, तारादेवि पुन आज जे छे त्यसका आधारमा तपाईँसमेत पत्याउन नसक्नु होला कि हिजो मेरो विगत यस्तो थियो। आज पनि मैले चाहेर मेरी आमासँग मोबाइलमा कुरा गर्न पाउँदिन। आमासँग कुरा गर्न आमाले नै चाहना गर्नुपर्छ किनभने घरबाट करिब आधा घन्टा तल झरेपछि मात्र मोबाइल टिप्छ’,  तारादेवीलाई नपत्याउने कुनै कारण थिएन।

तारादेवी पछिल्ला १६ वर्ष लगातार नेपालको ‘स्ट्रङगेस्ट’ महिला हुन्। यी वर्षमा तारादेवीले जति भार अन्य महिलाले उठाउन सकेका छैनन्। उनी नेपालमा भएका हरेक प्रतियोगितामा पहिलो भएकी छिन्, राष्ट्रिय कीर्तिमान बनाएकी छिन् र साथमा ‘स्ट्रङगेस्ट’ महिलाको उपाधि पनि। भारात्तोलन प्रतियोगितामा सर्वाधिक भार उठाउने खेलाडी प्रतियोगिताकै ‘स्ट्रङगेस्ट’ घोषित हुन्छन्।

दुई वर्षअघि भारतमा आयोजित १२ औं दक्षिण एसियाली खेलकुद–सागमा तारादेवीले कास्य पदक जितिन्। सागमा भारत्तोलनतर्फ महिला स्पर्धा समावेश गरिएको यो नै पहिलोपटक थियो।  भर्खरै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुद–एसियाडमा पनि तारा सहभागी थिइन्। ३७ वर्षको उमेरमा पनि ताराले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन्। तारासँग यकिन डाटा छैन–उनले कतिपटक राष्ट्रिय कीर्तिमान सुधार गरिन्, कतिपटक स्वर्ण पदक जितिन् ? एउटा डाटा भने यकिन छ– ९५ केजी तौल उचालेर सुरु भएको उनको राष्ट्रिय कीर्तिमानको यात्रा अहिले एक सय ७५ केजीसम्म आइपुगेको छ।

भन्छिन्,‘ प्रहरीको ट्रेनिङका कारण बिचमा ६/७ महिना खेल्न पाइन। त्यसबाहेक आफूले खेलेका हरेक प्रतियोगितामा म पहिलो भएको छु, क्लिन एन्ड जर्क र स्न्याचमध्ये कम्तीमा एउटामा राष्ट्रिय कीर्तिमान बनेको छ। हरेकपटक स्ट्रङगेस्ट महिला खेलाडी घोषित भएको छु।’

गाउँमा हुर्कने प्राय खेलाडीजस्तै तारा पनि धेरै खेलमा प्रतिस्पर्धा गर्थिन्, विद्यालयस्तरमा। कपर्दी, भलिबल, एथलेटिक्समा उनी सहभागी हुन्थिन्। तर उनको मन बढी समय भलिबलमै अडियो। उनी गाउँ घरकी नामी खेलाडी थिइन्। बेस्ट प्लेयर हुन्थिन् प्राय: स्थानीय भलिबल प्रतियोगितामा। सानैदेखि अब्बल देखिएर होला, खेलमा तारालाई परिवारको बलियो सपोर्ट थियो। साना साना सफलतामा उनका दाजुभाइ र दिदी खुसी हुन्थे। आमा मख्ख पर्थिन्।

घरमा एकदमै दुख थियो। अहिलेजस्तो टिभी, टेलिफोन, मोबाइल थिएन। घरको काम सिध्याएर दाजुभाइ र दिदीसँग मिलेर खेल्नुपर्थ्यो। दुईतिर खाँबा गाडेर त्यसमा डोरी टाँगी हामी मोजाको बल बनाएर भलिबल खेल्थ्यौं। वास्तवमा मैले भलिबल यसरी नै सिकेको हुँ। विस्तारै तल्ला माथ्ला गाउँमा गएर खेल्न थालियो। राम्रो खेल्ने भएकाले सबैले बोलाउँथे।

चौथो राष्ट्रिय खेलकुदका लागि जिल्लाले भलिबल टोली बनाउँदै थियो। ताराले गाविस स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गरिन्। छानिँदै जिल्लास्तरिय छनोटमा पुगिन्। यस प्रतियोगितामा भलिबल संघबाट समेत हंशराज वाग्लेलगायत प्रतिनिधि गएका थिए। ताराको खेलले सबै प्रभावित भए। उनी क्षेत्रीय टोलीमा अटाइन्।

अन्तत: ताराको टोली पश्चिमान्चलले चौथो राष्ट्रिय खेलकुदमा पहिलो स्थान हात पार्‍यो। उनी गाउँ फर्किइन्। नेपालमा आठौं साग(तत्कालीन साफ गेम्स) घरमै आयोजना हुँदै थियो। प्रतियोगिता सकिएपछि ताराको घरमा चिठ्ठी पुग्यो– तारा तिमी आठौं साफका लागि भलिबलको बन्द प्रशिक्षणमा छनोट भएकी छौ, चाँडो काठमाडौं आऊ। ताराले भाग्यलाई दोष दिनुको विकल्प थिएन।

जिल्ला छनोट खेल्न आउँदा बेनीघाट आइपुगेपछि अचम्मको घटना भएको थियो। माथि रोडमा गाडी कुदिरहेको रहेछ। मलाई भने ठूला घरहरु पल्टिरहेजस्तो लाग्यो। गाडि कुदिरहेको हो भन्ने चाल पाएपछि खुब लाज लागेको थियो।

पाँचौं राष्ट्रिय खेलकुदका लागि क्षेत्रीय टोलीको छनोट हुँदै थियो। ताराले फेरि टोलीमा स्थान बनाइन् र काठमाडौं आइन्। त्यसबीचमा दरबार हत्याकान्ड भयो। पाँचौं राष्ट्रिय खेलकुद अनिश्चित बन्यो। तर ताराले काठमाडौंमा संघर्ष गर्ने निधो गरिन्। उनको चिनजान ओलम्पियन तथा तेक्वान्दो प्रशिक्षक प्रमिला थापासँग थियो।

थापाले एक दिन उनलाई भनिन्– तारा तिम्रो ज्यान राम्रो छ, मोटी पनि छौ, भारात्तोलनमा ट्राइ गर न? ताराले गाउँमा धेरै खेल खेलेकी थिइन्। कुनैपनि खेलमा सक्दिन जस्तो उनलाई लाग्दैन थियो। बरु नयाँ खेलमा ट्राई गर्न कस्सिन्थिन्। जुनसुकै खेल पनि खेल्न मन लाग्ने उनलाई। भारात्तोलन भने यस्तो खेल थियो जसको नाम ताराले पहिलोपटक प्रमिलाकै मुखबाट सुनेकी थिइन्। उनलाई थाहा थिएन–भारात्तोलन कसरी खेलिन्छ ? प्रमिला प्रशिक्षक भएकाले तारालाई लाग्यो– एकपटक ट्राइ गरौँ न त?

मलाई प्रमिला दिदीले प्रशिक्षक सुनिललाल जोशी (गत वर्ष उहाँको निधन भयो) लाई गएर भेट्न भन्नु भएको थियो। म बिहान ९ बजे नै रंगशाला पुगेँ। तर उहाँले ट्रेनिङ गराउने समय दिउँसो पर्ने रहेछ। लगातार चार दिन गएपछि पाँचौं दिनमा मात्र सुनिल सरसँग भेट भयो। ‘तँ कसरी आइस्’ भन्नुभयो। मैले भलिबल खेलाडी भएको र अब भारात्तोलन पनि खेल्ने मन लागेको कुरा सुनाएँ। उहाँले मुख्य प्रशिक्षक पार्थ सारथी सेन गुप्त ‘मिठु’सँग भेट भन्नुभयो। मिठु गुरुले मलाई देखेर पत्याउनु भएन। उहाँले आश्चर्यतापुर्वक मलाई सोध्नुभयो–तिमी खेल्ने नै हो त ? मैले खेल्छु भनेँ। तर कसरी खेल्ने? मलाई थाहा थिएन। उहाँले प्रशिक्षक राजेन्द्र प्रधानलाई भोलिपल्ट गएर भेट्न भन्नुभयो।

भारात्तोलन प्रतियोगिताहरु भइरहन्थे। तर, महिलामा राष्ट्रियस्तरका प्रतियोगिता थिएनन्। महिला खेलाडी समेत निकै थोरै थिए। त्यसमा पनि आक्कल झुक्कल हुने साना प्रतियोगितामा खेलाडीलाई जम्मा गर्न समेत निकै मुस्किल पर्थ्यो। महिलाकै लागि भनेर प्रशिक्षण गर्ने साधनहरु पनि थिएनन्। ताराले पहिलो दिनदेखि नै २० केजीको रड ‘प्रेस’ गर्न थालिन्। जबकी २० केजीको रड पुरुष खेलाडीले मात्र प्रयोग गर्थे, निकै जान्ने भएपछि मात्र। तारा पाँच ६ महिनासम्म प्रशिक्षण गर्ने केवल एक्लै खेलाडी थिइन्।

पुसको अन्तिम साता पहिलो पटक रड समातेकी ताराले तीन महिनापछि वीरगन्जमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइन्। ६३ केजी तौल स्पर्धामा सहभागी हुँदै स्न्याचमा ४२ दशमलब ५ र क्लिन एन्ड जर्कमा ५२ दशमलब ५ केजी गरी कुल ९५ केजी तौल उठाइन्। उनको स्पर्धामा त्यो राष्ट्रिय कीर्तिमान थियो। अन्य स्पर्धामा कुनैपनि खेलाडीले यति भार उचाल्न सकेनन्। तारा पहिलो सहभागितामै ‘स्ट्रङगेस्ट महिला’ घोषित भइन्। पाँच हजार रुपैयाँ पनि पाइन्। चौथो राष्ट्रिय खेलकुदमा भलिबलतर्फ च्याम्पियन बनेभन्दा बढी खुसी थियो त्यो दिन।

राजेन्द्र गुरु कान पनि सुन्न हुन्न थियो, बोल्न पनि सक्नु हुन्न थियो। मिठु सरले भनेको भोलिपल्टै राजेन्द्र गुरुलाई गएर भेटेँ। जाने बित्तिकै मैले आफ्नो कुरा राखेँ। तर पछि थाहा पाएँ– उहाँ कान नसुन्ने र बोल्न नसक्ने हुनु हुँदो रहेछ। इशाराले आफू खेल्न आएको बताए। उहाँले केही प्रतिक्रिया जनाउनु भएन। भोलिपल्ट बोलाउनु भयो। मलाई मिति याद छ, पुस २६ गते बिहान ९ बजे रंगशाला पुगेँ। मलाई सक्दिन होला भनेर हुन सक्छ, गुरुले सुरुमै २० केजीको रड उठाउन लगाउनु भयो। म पनि गाउँमा उकाली ओराली गरेको मान्छे, भारी बोकेको भएर सजिलै उठाइ हालिन्छ नि भन्ने लाग्यो। उठाएँ पनि। त्यसपछि ४० केजीमा ट्राइ गर्न लगाउनु भयो। मैले राम्रो कोसिस गरेँ। गुरु मुसुक्क हाँस्नु भयो। भोलिपल्ट आराम दिएर पर्सि पल्ट आउन भन्नु भयो। तर, भोलिपल्ट मेरो जिउ साह्रै दुखेको थियो। दुख त मैले गाउँमा पनि गरेकै हो, भलिबल खेल्दा पनि गरेकै हो नि। मलाई थाहा थियो–मेहनतको फल मिठो हुन्छ। मैले तीन महिनामै राष्ट्रिय प्रतियोगिता खेलेँ र सफलता हात पारेँ। एक्लै विजेता बन्नुको स्वाद मैले पाएँ। मेरो चर्चा धेरै भयो। यो खुसी परिवारसँग साट्न तत्काल सम्भव थिएन। पछि घरमा थाहा पाउनु भएछ। सुनेको थिएँ– आमा एकदमै खुसी हुनु भएको थियो रे। दशैैंमा घर जाँदा आमाले भन्नु भएको थियो–अरु खेल पनि खेल्न थालिछस्। आमालाई थाहा थिएन कि मैले खेल्ने खेल कस्तो हो ? पछि भार उचाल्ने भन्ने थाहा पाएदेखि हरेकपटक भन्नु हुन्छ–तिमी आजैदेखि यो खेल खेल्न छाड। छोरी मान्छेको ज्यान त्यसैपनि कमजोर हुन्छ, हड्डी भाँच्चियो भने, ठूलो रोग लाग्यो भने ? चोट लागिरहने भएकाले मेरो ऐया र आत्था नियमितजस्तो हुने भएकाले पनि आमा चिन्तित हुनु हुन्थ्यो।

ताराको सपना केही थिएन। बस् उनी खेलेर रमाइरहिन्। भलिबललाई पनि निरन्तरता दिइन्। पछि बक्सिङ पनि सिकिन्। प्रतियोगिता पनि खेल्न लागेकी थिइन् तर भारात्तोलनको खेलाडीले बक्सिङ खेल्दै छ भन्ने चाल पाएपछि उनको स्पर्धामा अन्य कसैले पनि नाम दर्ता गराएन छन्। भारात्तोलनमा उनको प्रदर्शन बेजोड रहँदै गयो। दिनदिनै निखारिन्।

हरेक प्रतियोगितामा आफ्नै कीर्तिमान सुधारको शृंखला निरन्तर चल्यो। भारात्तोलन खेल्न थालेको करिब एक वर्षपछि उनलाई नेपाल पुलिस क्लबले आबद्ध गर्‍यो। तर, दुखद के भने उनी करिब एक दशक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइनन्। भारात्तोलन संघ र राष्ट्रिय खेलकुद परिषद्ले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला भारात्तोलन खेलाडीलाई सहभागी हुन लगेनन्।

२०६८ सालमा नेपालगन्जमा भएको पहिलो दक्षिण एसियाली भारात्तोलन च्याम्पियनसिप ताराका लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो। त्यसमा उनले स्वर्ण पदक जितिन्। त्यसपछि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजित एसियाली खेलकुदमा पनि ताराले सहभागिता हुने मौका पाइन्।

त्यसको दुई वर्षपछि भारतमा आयोजित सागमा महिला भारात्तोलनलाई पनि समावेश गरियो। स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९५ केजी गरी उनले कुल एक सय ६५ केजी तौल उठाएर कास्य पदक हात पारिन्। भर्खरै इन्डोनेसियामा आयोजित एसियाडमा उनले स्न्याचमा ९३ र क्लिन एन्ड जर्कमा एक सय २ केजी भार उठाएर राष्ट्रिय कीर्तिमान सुधार गरिन्। यसबीचमा उनले पुलिस क्लबबाट सटपुट, ज्याभ्लिन र डिसकस खेल्दै पदक पनि जितिन्।

नलागेकाे भए सायद खेल केही होइन लाग्थ्यो होला। तर लागेपछि खेल नै सबथोक हुने रहेछ। घुसिसकेपछि सबथोक लाग्ने,खेलिरहुँ लाग्ने। मलाई त खेल नै जीवनसाथीजस्तो लाग्छ। अब त खेल नै जिन्दगीजस्तो हुन्छ। मैले जहिले पनि आफ्नो बेस्ट दिन प्रयास गरेँ। हरेक खेलमा सुधार गर्ने प्रयास गरेँ। लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएपनि मैले बेस्ट दिनुपर्छ भनेर कहिल्यै भुलिन। सायद यही कारण मैले हरेकपटक कीर्तिमान पनि बनाउन सकेँ। किनभने मैले गर्न सक्ने नै त्यतिमात्र थियो। भारतमा भएको सागमा प्राप्त कास्य पदक भने मेरो जीवनकै सबैभन्दा खुसीको क्षण थियो। मैले पहिलोपटक विदेशी भूमिमा पदक जितेको थिएँ। चर्चा लोभलाग्दो। जितेको पदक कास्य भएपनि मेरो अनुभव स्वर्ण जितेभन्दा बढी थियो।  कतिपय अवस्थामा  भने खेलाडी  निरीह हुने रहेछ।  जस्तो कि भर्खरै भएको एसियाड। हामी प्रतिस्पर्धी भएर गएपनि लक्ष्य भने राष्ट्रिय कीर्तिमान सुधार नै थियो। पदक जित्ने खेलाडी र हामीबीच धेरै ग्याप थियो। एउटा खेलाडीले आफ्नोस्तर र क्षमता  प्रतिस्पर्धा गर्नुअघि उसलाई थाहा हुन्छ। हामी विगतभन्दा धेरै राम्रो भइसकेका छौं तर अन्य देशका खेलाडी  हामीभन्दा धेरै अगाडि बढिसकेका छन्। अनि हामीले राष्ट्रिय कीर्तिमान सुधारलाई नै सफलता मान्नुपर्ने। 

ताराले सागमा पदक जितेपछि उनकी आमाले भनेको सम्झना ताजा छ- तैँले अहिलेसम्मको मेहनतको फल पाइस् तर अब यो खेल खेल्न छाडिदे। तारा यस्ता कुरा हरेकपटक सुन्छिन् र बिर्सिन्छिन्। त्यसैले त ३७ वर्षको उमेरमा पनि खेल्ने जोश र जाँगर उत्तिकै र उस्तै छ। उनलाई लाग्छ- खेल्न छाडे‍र कसरी बाँच्नु! ताराको चर्चासँगै अहिले भारात्तोलनमा विगतको भन्दा धेरै र क्षमतावान महिला खेलाडी आइसकेका छन्। महिलाले पनि भारात्तोलन खेल्न सक्छन् हैन कि धेरै राम्रो गर्न सक्छन् भन्ने अवस्था छ। तरपनि यो खेल खेलेर बाँच्न गाह्रो छ। अन्य खेलमा जस्तो अरुलाई प्रशिक्षण गराउने र आफू खेल्नेपनि अवस्था यो खेलमा छैन। भविष्यको ग्यारेन्टी पनि छैन।

खेल त सबै उस्तै हो, सबैमा रगत र पसिना बगाउनैपर्छ। तर भारात्तोलन त्यसमा पनि केही फरक र गाह्रो छ भन्ने लाग्छ। आजका दिनमा पनि कोही पनि खेलाडीले म खेलेर मात्र बाँच्न सक्छु भन्ने अवस्था छैन। मार्सल आर्ट वा अन्य खेलमा जस्तो म अरु ठाउँमा खेलाएर पैसा कमाउँछु भन्ने पनि स्थिति छैन। यदि नेपाल प्रहरीको जागिर नभएको भए मलाई पनि निक्कै गाह्रो हुने थियो। 

तारालाई यकिन छैन अब उनी कति समय खेल्न सक्छिन्? अब कतिपटक राष्ट्रिय कीर्तिमान सुधार हुने छ ? अब कति वर्षसम्म स्ट्रङगेस्ट महिला हुने छिन्? भन्छिन्- अब यी सफलताहरु भारी लाग्न थालेका छन्। दिनदिनै भारले थिचिरहेको जस्तो लाग्न थालेको छ। मानिसहरुको अपेक्षा पूरा गर्न अब मलाई सजिलो छैन।

हरेक पटक प्रतिस्पर्धामा उत्रँदा विगतका सफलतालाई निरन्तरता दिने चुनौती उनलाई छ।  स्ट्रङगेस्ट महिलाको ट्याग जोगाइरहन अब सजिलो हुने छैन। तपाईलाई नेपालको सबैभन्दा बलियो महिलाभन्दा कस्तो लाग्छ भन्ने मेरो प्रश्नमा तारा केहीबेर हाँसिन् अनि बोलिन्- म घरको कान्छी छोरी त्यसैपनि प्यारी। सबैले माया गर्ने। आजसम्म न कसैले मलाई पिटेको छ न त मैले नै। म त झगडा सुरु हुने बित्तिकै रोइहाल्छु। तर भिडिहाल्नु पर्‍यो भने तीन चार जना आए पनि लड्न सक्छु जस्तो लाग्छ।

तारा एक्लै हुँदा कहिलेकाहीँ मनमनै बरालिन्छिन्- त्यति विकट ठाउँमा जन्मिएर गाउँमा भलिबल खेल्दै पछि राष्ट्रियस्तरमा पुगेकी म फेरि अर्को खेलमा लागेर आज कसरी यहाँसम्म आइपुगेँ होला! सम्झेर उनी फुरुंग हुन्छिन्।

 

 

अशोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्