न्यायाधीशमाथि महाअभियोग प्रस्ताव संघीय समाजवादीलाई अमान्‍य: यादव

फाइल तस्बिर

मोरङ- सर्वोच्च अदालतको न्यायाधीशमाथि महाअभियोग प्रस्ताव संघीय समाजवादी फोरम नेपाललाई मान्य नहुने उपप्रधान एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन्।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै स्वास्थ्य मन्त्री एवं फोरम अध्यक्ष यादवले न्यायाधीशका विषयमा हचुवाको भरमा महाअभियोग प्रस्ताव ल्याउन नहुनेमा जोड दिएका हुन्।

मन्त्री यादवले सर्वोच्च अदालतका न्यायाधीश दिपकराज जोशीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने सत्तारुढ दलका सांसदहरुको विपक्षमा उभिदै सो कुरा बताएका हुन्।

उनले भने, ‘जोशी विरुद्ध ल्याउने भनिएको महाअभियोग प्रस्तावको बिषयमा आफूलाई कुनै जानकारी भएन र आफूसँग कुनैपक्षले पनि छलफल गरेको छैन।’

महाअभियोगको विषय ठोस आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका मन्त्री यादवले भने, ‘महाअभियोग लगाउने कुरा केटाकेटी खेल होइन।’

असोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्