शिक्षकबाटै छात्रामाथि पटक पटक यौनजन्य दुर्व्‍यवहार

सांकेतिक तस्बिर ।

बेनी- कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या काण्ड सेलाउन नपाउँदै अर्की किशोरीमाथि यौन दुर्व्‍यवहारको घटना सार्वजनिक भएको छ।
बेनी नगरपालिका वडा नं २ बौरमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्‍ययनरत कक्षा ४ र ५ मा अध्ययनरत बालिकामाथि सोही विद्यालयका शिक्षकले यौनजन्य दुर्वब्यवहार गरेको घटना सार्वजनिक भएको हो।

विगत २८ वर्षदेखि प्राध्यापन पेशामा संलग्न नेपाली विषयका शिक्षक ५४ वर्षीय याम बहादुर जीसीले छात्राहरुको संवेदनशील अंगमा विभिन्‍न बहानामा छुने र चिमोट्ने गरेको कुरा छात्राहरुले सोही विद्यालयकी शिक्षिकालाई बताएपछि घटना बाहिर आएको हो।

कक्षा पाँचमा अध्ययनरत एक छात्राले भनिन् ‘मलाई सरले विभिन्‍न बहाना बनाउँदै मेरो छातीमा हात लाने र चिमोट्ने गर्नुहुन्थ्यो। नगर्नु भन्‍न पनि डर लाग्थ्यो। अरु साथीहरुलाई पनि त्यस्तै गर्ने गरेको थाहा पाएपछि मिसलाई भन्यौ।’

निराश भावमा ती छात्राले भनिन्, ‘शुरुमा त मिसले होइन तिमीहरु बदमास भएर पिट्नु भएको होला भन्‍नुभयो। हामीले ‘छातीमा नै चिमोट्नु’ हुन्छ भनेपछि उहाँ तर्सिनु भयो र हेडसरलाई भनिदिनु भयो।’

घटना बाहिर आएपछि सरले आफूलाई नराम्रोसँग गाली गरेको छात्राले बताइन्। कक्षामा पनि राम्रोसँग नपढाउने फोनमा जिस्किएर बस्ने। अनि स्कुल नगएको दिन कुन केटासँग डेटिङ गएको थिइस् भनेर सरले भन्‍ने गरेको उनले बताइन्।

कक्षा ४ मा तीन जना, कक्षा पाँचका चार जना र तीन कक्षाको एक जना छात्रामाथि यस्तो दुर्व्‍यहार गर्दै आएको छात्राहरुले गुनासो गरिन्।सोही विद्यालयकी कक्षा पाँचमा अध्‍ययनरत अर्की छात्राले पनि सरबाट धेरै पल्ट दुर्व्‍यहार हुने गरेको बताइन्। उनले भनिन्, ‘एक पटक त चित्र बनाएर सरलाई देखाउँदै सर यो चित्रको कति नम्बर आउँछ भनेर सोध्दा तेरो छाती खेलाउन दिए मात्रै धेरै नम्बर दिन्छु।नत्र नम्बर दिन्‍न।’

उनले भनिन् ‘साथीहरुकै अगाडि सरले नराम्रो व्‍यवहार देखाउनुहुन्थ्यो।मैले भनेको माने धेरै नम्बर दिन्छु भन्ने गर्नु हुन्थ्यो । सर नजिक आउँदा डरले हामी भाग्थ्यौ सर रिसले चुर हुनुहन्थ्यो । सर कक्षामा आउँदा पनि हामीलाई अब के गर्नुहुन्छ भन्‍ने मनमा त्रास पैदा हुन्थ्यो। पढ्न पनि मन लाग्दैनथ्यो।’
‘कक्षा पाँचमा जम्मा ६ जना छौ, एक जना केटा छ । पाँच जना केटी छौ । ती मध्ये तीन जनालाई सरले नराम्रो व्‍यवहार गर्नुहुन्छ।’

उनी अब त्यो स्कुलमा पढ्न नजाने बताउँछिन्। उनले यस अघि पनि एक साथिलाई सरले एकदम नराम्रो ब्यवहार गरेर स्कुल छोडेको भन्दै अब आफू पनि त्यो स्कुलमा पढ्न नसक्ने बताइन्। भर्खर १० वर्ष पुरा भएकी उनले अर्को साथीको स्तन सरले चिमोटिदिदा साथी विरामी भएर स्कुल आउन नसकेको बताइन्।

यता, सो घटनाका आरोपी शिक्षक याम बहादुर जिसी भने आफूलाई कसैले नियोजित तरीकाले फसाउँन खोजेको बताउँछन् । उनी भन्छन् – ‘विगत २८ वर्ष देखि अध्यापन पेशामा छु । हरेक विद्यार्थीलाई छोरा छोरी समान व्‍यवहार गर्छु । कसको लहैलहैमा लाएर यस्तो आरोप आयो म अचम्ममा परेको छु।’

उनले स्कुलका केहि शिक्षकहरु रिसइविको कारण छात्राको प्रयोग गरेर आफुलाई बदनाम गराउन खोजेको बताए । उनले भने ‘भदौ २१ गते कक्षा ५ का छात्राहरु लुकामारी खेल्ने क्रममा ट्वाइलेटमा लुकेका रहेछन्।बाहिरबाट कसैले चुकुल लगाईदिए छन्। पछि ढोकाको ढकढकको आवाज सुनेपछि ट्वाइलेटको ढोका खोल्न गएको हुँ । त्यही बेला छात्राहरुको हातमा समातेर सबैलाई बाहिर गाली गर्दै निकालेको विषयलाई अफवाह फैलाएको शिक्षक जि.सीको आरोप छ।

यता कक्षा ४ र ५ का छात्राहरुको एउटै बोलीमा आफूलाई शिक्षकले दुब्यवहार गरेको बतापछि स्थानिय अधिकारकर्मी एवं राजनैतिक दलका ब्यक्तिहरुले समेत विशेष चासोको रुपमा हेरेका छन्। विद्यालय प्रशासनले सो घटनाको बारेमा छानविन गरी कारर्बाहीको प्रक्रिया अगाडि बढाएको वडा २ का वडा अध्यक्ष हिरा बहादुर थापाले बताए।

उनले भने, ‘स्कुलका छात्राहरुमाथि के कस्तो भएको हो। घटनाको विषयमा गम्भिर भएर अनुसन्धान गरी दोषीलाई कार्बाही गर्छु।’ उनले भने ‘छात्राहरुबाटै यो कुरा आएपछि यसलाई सामान्य रुपमा लिनु हुन्न यसमा अभिभावकपनि न्यायका लागि अग्रसर हुनुपर्छ । जनप्रतिनिधिको रुपबाट हामी न्यायका लागि लड्छौ।’

यस्तै बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले घटनाको बारेमा उजुरी नआएको तर पीडित भनिएका बालिकासँग भेटेर घटनाको बारेमा जानाकारी लिएको बताइन्। उनले भनिन्, ‘ यव विषयबारे अनुसन्धान प्रक्रियामा छ।शिक्षक दोषी भेटिए कानुनी कार्बाहीका लागि पहल गर्छौ। रक्षक नै भक्षक बने न्‍याय मरेर जान्छ।’

अशोज ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू