फोडिनको इनिएस्टासँग तुलना, म्यानचेस्टर सिटीको प्रभावशाली जित

पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी सहज जितसहित इएफएल कप (कारबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

तेस्रो चरण अन्तर्गत मंगलबार राति अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले अक्सफोर्ड युनाइटेडलाई ३–० ले हराएको हो ।

सिटीको जितमा गाब्रिएल जिसस, रियाद महरेज र फिल फोडिनले गोल गरे । ३६ औँ मिनेटमा जिससको गोलबाट सिटीले पहिलो हाफमा १–० को अग्रता लियो । ७८ औँ मिनेटमा महरेजले गोल गर्दै अग्रता दोब्बर पारे ।

सिटीका लागि इन्जुरी समयको दोस्रो मिनेटमा फोडिनले गोल गर्दै ३–० को जित निश्चित गरे । फोडिनको गोलपछि उनलाई बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनिएस्टासँग तुलना गरिएको छ ।

प्रशिक्षक गार्डिवलाले फोडिन आउँदो दशकमा उत्कृष्ट खेलाडीको रुपमा अघि आउने बताए । १८ वर्षका फोडिनले सिटीका तीनै गोलमा आफ्नो भूमिका निभाए ।

असोज १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्