फिफा वर्ष खेलाडी लुकाको गोलले मान्यता पाएन, हार्यो रियल मड्रिड

युरोपियन च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको खेलमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिड सेभिल्लासँग ३–० ले पराजित भएको हो ।

बुधबार राति नै भएको खेलमा बार्सिलोना लेगानेशसँग २–१ ले हार्यो । ला लिगाको इतिहासमा पछिल्लो तीन वर्षमा रियल मड्रिड र बार्सिलोना एकै दिन पराजित भएको यो पहिलो पटक हो । यसअघि सन् २०१५ को जनवरी ४ मा रियल मड्रिड र बार्सिलोना एकैदिन पराजित भएका थिए ।

अवे मैदानमा भएको खेलमा रियल मड्रिडले २१ पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन । सेभिल्लाले पहिलो २१ मिनेट भित्रै दुई गोल गरेको थियो । यस्तै पहिलो हाफमै अर्को गोल पनि थप्न सफल भयो।

सेभिल्लाका लागि आन्द्रे सिल्भाले १७ र २१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै ३९ औँ मिनेटमा बेन यड्डरले गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र सेभिल्ला ३–० ले विजयी भयो ।

फिफा वर्ष खेलाडीको अवार्ड पाएपछिको पहिलो खेलमा लुका मोड्रिकले गोल गरेका थिए । तर दोस्रो हाफमा भएको गोललाई भिएआर मार्फत रिभ्यू गरेर रेफ्रीले मान्यता दिएनन् ।

ग्यारेथ बेलले राम्रो प्रदर्शन गरेका थिए तर गोल गर्न सकेनन् । राति नै भएका अरु खेलमा भिल्लारियलले एथ्लेटिको बिल्बाओलाई ३–० ले हरायो भने भ्यालेन्सिया र सेल्टा डी भिगोले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

असोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्