पूर्वडिआइजी निरौला पनि साधारण तारेखमा छुटे

पूर्वडिआइजी गोविन्द निरौलासहित अन्य अभियुक्तहरु। तस्बिरहरु: अभयकुमार राई

बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा थुनामा रहेका पूर्वडिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा राख्न आदेश दिएको छ।

मोरङ जिल्ला अदालतको निर्णय उल्टाउँदै बिहीबार विराटनगरस्थित उच्च अदातलले निरौलालाई छाड्न आदेश गरेको हो।

उच्च अदालत विराटनगरका न्यायाधीश सारंगा सुवेदी र जनक पाण्डेको संयुक्त इजलासले छाड्न आदेश दिएको उच्च अदालतको सूचना अधिकृत राजकुमार दाहालले जानकारी दिएका छन्।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिँदा निरौलालाई साधरण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउन आदेश दिएको दाहालले स्पष्ट पारे।

मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधरण तारेखमा छाड्न आदेश दिइएको उनले जानकारी दिए।

निरौलाले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छाड्न माग राख्दै गत असार ७ गते निवेदन दिएका थिए।

यसअघि उच्च अदालतले प्रहरीका उच्च अधिकारीहरू एसएसपी दिवेश लोहनी, एसएसपी विकासराज खनाल, डिसएपी प्रजित केसीलाई धारण तारेखमा छोड्न आदेश दिइसकेको छ। त्यस्तै डिएसपी सन्जय राउत, तुलाराम थारु र लाक्पा शेर्पा, टेकराज मल्ल, पुण्यप्रसाद लामा, महाबीर गोल्यान, सम्बिर प्रसाद तोलांगे, राजनकुमार, लुलाराम थारु, हेमन्त गौतम, राजन थापाका सम्बन्धमा जिल्लाकै आदेश सदर गरी थुनामै राख्न आदेश दिइसकेको छ।

प्रहरी जवान बिष्णुबहादुर खड्का र प्रहरी हवल्दार अमरबहादुर थापालाई भने जिल्लाको आदेश रितपूर्वक नदेखिएको भन्दै थुनामा राख्न उच्च अदालले आदेश दिएको थियो। जिल्ला अदालतले विष्णुबहादुर खड्कालाई धरौटी र अम्बरबहादुर थापालाई साधारण तारेखमा राख्न आदेश दिएको थियो।

असोज ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्