मालिकाको ट्रेलरमा पशुपतिको गंगा आरतीको ‘आरती दानी’ उठाउँदै गरेकी देखिइन् रेखा

काठमाडौँ– नेपाली चलचित्र क्षेत्रमा ‘लेडि हिरो’ भनेर चिनिने नाम हो रेखा थापा। अभिनयबाट निर्माता अनि निर्देशक रेखाले सामाजिक विषयवस्तुमा आधारित चलचित्रमा अभिनय गरेकी छन्। कथित र कल्पित भन्दा फरक धारको चलचित्र बनाउने रेखाको पछिल्लो चलचित्र रुद्रपिया हो, जसमा उनले एसिड आक्रमणको कथालाई उजागर गरेकी छन्।

रुद्रपियापछि सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘मालिका’ हो। शुक्रबार यो चलचित्रको ट्रेलर सार्वजनिक भएको छ। जाजरकोटको परिवेशलाई लिएर बनाइएको चलचित्रले बालविवाह र सामाजिक मूल्य मान्यताको विरोध गरेको छ।

चलचित्र मार्फत रेखाले पशुपतिनाथमा हरेक साँझ हुने गंगा आरतीको आरती दानी पनि उठाएकी छन्। पशुपतिनाथ परिसरमा १२ वर्षदेखि चल्दै आएको गंगा आरतीमा रेखाले पाँच किलाको आरती दानी उठाएकी हुन्। यो दानी प्राय महिलाले उठाएको देखिँदैन। तर रेखाले आरती दानी उठाएरै आरती गरिन्।

श्री पशुपतिनाथ बाग्मति आरती सेवा समितिका संस्थापक उपाध्यक्ष डा. बासुदेव कृष्ण शास्त्री ले भने, ‘महिलाहरुले आरती दानी छुन हुँदैन, उठाउनु हुँदैन भन्ने होइन, १ सय ५१ ओटा दियोमा कपाले कातेको बत्तिसँग सुगन्धित कपूर सहित आरति गरिन्छ। पित्तलले बनेको यो दानीलाई लिएर १ घण्टा लामो स्तूति गर्नुपर्छ। तर यसको लागि धेरै शक्ति चाहिने भएर महिला दानी उठाउन जाँदैनन्। त्यसैले आरती दानी बोक्ने पुरुषमात्र हुन्छन्।’

मालिकाको छायंकन जाजरकोट, बाँके र काठमाडौँमा गरिएको छ। मालिकाकी मुख्य पात्र ‘जया’ ले आफू पहिला डराउने गरेको तर अहिले बालविवाहको विरुद्धमा बोलिरहेको बताइन्।

चलचित्रका डायलग लेखक तथा वरिष्ठ अन्तराष्ट्रिय जीवन प्रशिक्षक नरबहादुर कार्कीले हाम्रो जीवनको ९० प्रतिशत समय भूतकालको सवालको जवाफ खोज्नमा नै जान्छ, मालिका भविष्य सम्बोधन गर्न सिकाउने, भोलि के बन्छौ भनेर भिजन गर्न सिकाउने चलचित्र भएको बताए।

मालिका रेखाको पाँचौ चलचित्र हो। उनले चलचित्र मार्फत महिला माथि हुने हिंसाको विरोध गर्दै आएकी छन्। मालिकाले हिंसा विरुद्ध लड्ने कला सिकाउने निर्माण पक्षले जनायो। ट्रेलर सार्वजनिक कार्यक्रममा रेखाले अन्तिम लडाइसम्म लड्नुपर्ने बताइन्। उनले भनिन्, कायर हुनुहुँदैन, हरेक घरमा मालिका जन्मनुपर्छ। चलचित्र कात्तिक १६ मा प्रदर्शनमा आउँदैछ।

तस्बिरहरु: दिपा दाहाल

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्