सडक विस्तारको माग गर्दै कलंकी-नागढुंगाका स्थानीयद्वारा प्रदर्शन

काठमाडौँ-चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।

सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो ।

अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए।

“काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन, नगरपालिकालाई जिम्मेवारी दिए तीन महिनामा यो सडक बनाउँछौँ, उपत्यका भित्रिने र बाहिरिने प्रमुख मार्गमा सरोकार भएका निकायको ध्यान नजानु लाजमर्दो छ”–उहाँले भन्नुभयो ।

यो मार्ग भएर दैनिक १५ हजारभन्दा बढी सवारी आवतजावत गर्छन् । कलङ्कीमा निर्माण भएको नेपालकै पहिलो ‘अण्डरपास’ केही दिन सञ्चालन भएर बन्द हुँदा पनि यो मार्गमा चाप बढेको नगरपालिकाले जनाएको छ।

स्थानीय सचिन पाण्डे पानी परेका बेला हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे सडक हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको बताउनुहुन्छ । यो सडक विस्तारको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सनले पाएको छ।

‘अण्डरपास’ एक हप्तापछि खुल्ने


बल्खु–खसीबजार एक हजार २०० मिटर सडक कालोपत्र भइरहेकाले केही दिनका लागि भूमिगत मार्ग (अण्डरपास) बन्द गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए। सो मार्गको ८०० मिटर सडक भने कालोपत्र भइसकेको छ। एक हप्तामा कालोपत्र सकी सो भूमिगत मार्ग खोलिने जनाइएको छ।

कोटेश्वर–बल्खुपुल–कलङ्की १० दशमलव ४ किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पनि अन्तिमचरणमा पुगेको छ। चिनियाँ युआन रु २१ करोड २० लाख अर्थात् नेपाली करीब रु पाँच अर्ब अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो। निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ।

आयोजनाले पहिलो तहको कालोपत्र सकी दोस्रो तहको गर्ने तयारी गरेको छ। चिनियाँ निर्माण व्यवसायीले आगामी डिसेम्बर १५ सम्म पहिलोचरणको १० दशमलव ४ किमी चक्रपथ विस्तार गरी सडक विभागलाई हस्तान्तरण गरिसक्ने जानकारी गराएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्