भुवनहरिले ल्याए जीवन दर्शन र जीवन बोध गराउने उपन्‍यास ‘धनञ्जय’

काठमाडौं- कवि तथा उपन्यासकार भुवनहरि सिग्देलको ‘धनञ्जय’ उपन्यास सार्वजनिक भएको छ।

राजधानीमा प्रा.डा. माधव पोख्रेल, प्रा. राजेन्द्र सुवेदी, कथाकार माया ठकुरी, समालोचक डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको पुस्तक सार्वजनिकरण तथा अन्तरसम्बाद कार्यक्रमकाबीच उक्त पुस्तक सार्वजनिक भएको हो।

पुस्तक अन्तरक्रिया कार्यक्रममा समाज आमुल परिवर्तन हुन सक्छ कि सक्दैन ? भन्ने प्र्रश्नको जवाफ प्रा. डा. माधव पोख्रेल यसरी दिन्छन्, ‘पाठकका दृष्टिले हेर्ने हो भने यो उपन्यासले समसामयिकता अँगाल्न सकेको छैन। यस उपन्यासमा महाकाव्यजस्तो अलौकिक परिकल्पना यसमा छ यसैले यो उपन्यासका पात्र, घटना अलि पत्यारलाग्दा छैनन्।’

समाज बनाउन प्रायश्चितले मात्र पुग्ला? भन्ने प्रश्नमा पोख्रेलको यस्तो भनाइ छ, ‘आदर्श मान्छेकै समाज हो यो। राम्रा आलु भएको डालामा एउटा कुहेको आलु पर्‍यो भने त्यसलाई निकालेर फाल्नुपर्नेमा हामी कुहेको डालाभरीको आलुमा एउटा राम्रो आलुलाई राखेर आदर्श समाजको परिकल्पना गर्छौं।त्यसैले हाम्रो तालमेल नमिलेको हो।’

यसैगरी, समाजमा एकले अर्कालाई दोष देखाउने प्रवृत्ति छ यस्तो अवस्थामा समाज कसरी चलिरहेको छ जस्तो लाग्छ ? भन्ने प्रश्नको जवाफ प्रा. राजेन्द्र सुवेदी यसरी दिन्छन्, ‘समाजका भोक्ता मानिस हो त्यसैले औषत मान्छे पनि समाजमा छन्।

यस उपन्यासको कुन अध्यायमा ऐतिहासिकता, कुनैमा सामाजिक यथार्थताजस्ता कुराहरु आएका छन् । समग्रमा भन्दा समाजमा कमाई कुन प्रक्रियाबाट भएको छ ? त्यसको आय स्रोत के हो भन्ने कुरामा आमाको खबरदारीले परिवारको कुनै सदस्यको बारेमा जानकारी राख्न खोजिएको छ ।’

‘धनञ्जय’ उपन्यासलाई सामाजिक उपन्यास भन्न मिल्छ ? भन्ने प्रश्नको कवि तथा समालोचक डा. रामप्रसाद ज्ञवालीले यसरी उत्तर दिन्छन्, ‘यस उपन्यास सामाजिक, ऐतिहासिक कथावस्तु, अदभूत् पात्रको संयोजन यस उपन्यासमा छ। यस उपन्यासमा नारी स्वाभिमान, यथार्थ, आदर्श जीवनीपरकता पनि यस उपन्यासमा पाइन्छ ।’

‘धनञ्जय’ उपन्यासका आधारमा हामी कहाँ चुक्यौं ? भन्ने प्रश्नमा कथाकार माया ठकुरी यसो भन्छिन्, ‘यो ३०–४० दशकको उपन्यास हो । त्यस समय पनि निरक्षर आमाले आफ्नी छोरीलाई आफूँले लुकाएर राखेको पैसा दिएर पढ्न पठाउनु त्यस समयको विद्रोहको रुपमा देखा परेको छ । अर्को धनञ्जयले परिवारलाई समय नदिँदा आएको समस्यालाई उजागर गर्न खोजिएको छ।’

यसैगरी अन्तिममा ‘धनञ्जय’ उपन्यासले जीवन दर्शन र जीवन बोधलाई कसरी लिन सकिन्छ ? भन्ने प्रश्नमा ज्ञवलीले यस्तो जवाफ दिए, ‘यस पुस्तकलाई लिने हो भने सबै मान्छे खराब हुँदैनन् । रगतको नाताभन्दा भावनात्मक नाता बलियो हुन्छ भन्ने कुराले समाजका एक व्यक्ति र अर्को व्यक्तिलाई जोड्ने काम गरेको छ।’

भुवनहरि सिग्देलका यस अघि नै पनि ‘आमोई’ र ‘सारङ्गी’ उपन्यास बजारमा आइसकेका छन्। ‘धनञ्जय’ उपन्यासको साङ्ग्रिला बुक्ले बजारमा ल्याएको हो भने यसको बजार मूल्य रु. ३७५/- रहेको छ।

असोज १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्