सन्दर्भ विश्व मुटु दिवस

मुटुलाई कसरी स्वस्थ राख्ने ?

काठमाडौँ – पछिल्लो समयमा मुटु रोग युवा अवस्थाकै मान्छेहरुमा डरलाग्दो तरिकाले फैलिएको चिकित्सकहरु बताउँछन । मुटु रोग विश्वमै जनस्वास्थ्य समस्याको रुपमा रहेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पछ्र्रन भने विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ ।

मुटुरोग भन्नाले धेरैजसोले हृदयघात र्हट अट्याक भनेर बुझ्ने गरेको पाइन्छ ।

मुटु रोगको समयै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचको साथै उचित शारीरिक तौल, नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्ने चिकित्सहरु बताउँछन् । चिकित्सकहरुका अनुसार मुटुको रोग लाग्नुको कारण अन्य समस्याको साथसाथै खानासम्बन्धी समस्यालाई पनि प्रमुख रुपमा लिन सकिन्छ ।

विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै मुटुरोग मानव मृत्युको पहिलो कारण बन्न पुगेको वीर अस्पतालका मुटु रोग विशेषज्ञ डा. हरिहर खनाल बताउँछन ।

पुरुष र महिला दुवैजनालाई असर पार्ने यो रोग अहिले पनि बढ्दो क्रममा रहेको र मृत्यु हुनेहरूमध्ये धेरै विकासोन्मुख देशका विपन्न वर्गका जनता परेको देखिन्छ ।

डा. खनालका अनुसार अहिले सबै भन्दा बढी उच्च रक्तचाप र फेरिदै गएको जीवनशैलीका कारण हजारौँ मानिस मटुको रोगले ग्रस्त रहेको पाइएको छ ।

मुटुमा के कस्ता समस्या आएमा मुटु दुख्ने हुन्छ ?

मुटुको झल्व थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातीको बिच भागमा बेस्सरी मुटु दुख्ने हुन्छ ।

यस्तो अवस्थामा हिँडडुल गर्दा झनै दुख्ने हुन्छ । त्यस्तै शरीरमा रक्तसञ्चार कमी भयो भने पनि मुटु दुख्ने हुन्छ । एन्जाइना हनुलाई पनि मुटु दुख्ने एक कारण मान्न सकिन्छ ।

छाती गाह्रो भएको महसुस हुनु, छातीमा कसैले च्यापेको जस्तो लाग्नु, छाती पोल्ने छाती चिलाउनु लगायतका सबै लक्षण एन्जाइनामा पर्छन । जसको कारण मुटु दुख्न थाल्छ । तसर्थ मुटु दुख्ने कारण मुख्य गरी मुटु रोग नै हुन सक्छन ।

वंशाणुगत इतिहास भएको कारणले, अत्याधीक मोटोपन, शारीरिक रुपमा कम शक्रिय, अत्याधीक कोलस्ट्रोल, अत्याधिक ब्लडप्रेसर, धुम्रपान सेवन, लागु पर्दाथको सेवन, मधुमेहका रोगी हुनु लगायतका कारणले मुटुरोग हुन सक्ने अधिकतम संभावना हुन्छ ।

मुटु रोगको लक्षण

  • श्वासप्रश्वासमा समस्या आउनु
  • घाँटी दुख्नु
  • टन्सिल हुनु
  • देब्रे छाती दुख्नु
  • मुटुको चाल बढ्नु
  • रिंगटा लाग्नु, बेहोस हुनु
  • छाती दुखेसँगै खलखल पसिना आउनु
  • वाकवाकी लाग्नु, वान्ता आउनु
  • जिब्रो लरबरिनु हात झम्झमाउनु आदि ।

रोकथामको उपाय

  • धुम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्ने
  • मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।
  • मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा बेलाबेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
  • मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ ।
  • खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।
असोज १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्