अनाधिकृत रुपमा वन फडानी

विराटनगर – सडक विस्तारका नाममा सुनसरीको धरानस्थित एक सामुदायिक वन क्षेत्रमा अनाधिकृत रुपमा वन फडानी गरिएको छ।

धरानको पत्रङबारी सामुदायिक वन उपभोक्ताका पदाधिकारीहरुको मिलोमतोमा रुख विरुवा फडानी गरिएको हो। सो क्षेत्र भएर करिब एक किलोमिटर सडक विस्तारका क्रममा उपभोक्ताका पदाधिकारीहरुले लाथ्रा र ३३ वटा सखुवाका रुख कटान गरेको पत्रङबारी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष पञ्चबहादुर कुलुङसहित स्थानीयले आरोप लगाएकाछन्।

सो उपभोक्ता वनहुदै लामाचौरबाट गैह्री टोल निस्कने सडक विस्तारका क्रममा सामुदायिक वनको नियम विपरीत सव डिभिजन वन कार्यालय धरानको मिलोमतोमा रुख कटान गरिएको उनीहरुको भनाइ छ। कार्यालयका प्रमुख ज्ञानकुमार लामाले रुख कटानका लागि अनुमति दिएपछि सामुदायिक वनका सह सचिव चन्द्र कुलुङले नियम विपरीत अन्धाधुन्ध रुपमा रुख कटान गरेको बताइएको छ।

यस क्रममा स्थानीयले वन कार्यालयमा उजुरी दिएपछि, हाल रुख कटान गर्ने २ जना र स्याउला बोक्ने एक जनालाई पक्राउ गरिएको छ। अर्कोतर्फ, सडक विस्तारका लागि बजेट विनियोजन गर्ने आश्वासनपछि सडक नजिकका रुख कटान गरिएको चन्द्र कुलुङले स्पस्ट पारेकाछन्। नगरपालिकाले सडकका लागि रकम विनियोजन गरेसंगै आफूहरुले काम अघि बढाएको कुलुङको भनाइ छ।

असोज १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्