रोहिंग्या शरणार्थी दिल मोहम्मद । तस्बिरहरु : बर्षा शाह /देश सञ्चार ।
नेपालमा रोहिंग्या शरणार्थीहरु - २

रोहिंग्याको आक्रोशको निशानामा राष्ट्रसंघीय शरणार्थी उच्चायोग

काठमाडौँ – सात छोराछोरी छन्, उमेर ४८ वर्ष भयो । नाम दिल मोहम्मद, तर उनको दिलमा जाती छैन र शरीर पनि बिमारले गाँजेको छ ।
आफू जन्मी हुर्केको अनि परिवार पाल्दै आएको देशबाट लखेटिएका म्यानमारका दिल मोहम्मदको बसाई गएको चार वर्षदेखि काठमाडौँको बुढानिलकण्ड नगरपालिका–११ कपन बालुवाखानी माथिको राम मन्दिरमा छ ।

राम मन्दिरको आडैमा ओसेपिलो भिरालो जमिनमा दिलसहित ६२ परिवारका १७१ जना रोहिंग्या शरणार्थीको शिविर छ ।
म्यानमारमा भड्किएको हिंसा र अल्पसंख्यक रोहिंग्या मुस्लिमहरुमाथि बहुसंख्यक बुद्धिस्ट समुदायको ज्यादतीबाट जोगिनका लागि दिलसहितका रोहिंग्याहरु बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका हुन् ।

विज्ञापन

अल्पसंख्यकबाट रोहिंग्या शरणार्थी बनेका उनीहरुको अवस्था बुझ्दै शिविरमा पुग्दा दिल मोहम्मदसहितका अधिकांश शरणार्थीहरुमा असन्तुष्टि देखियो । त्यो असन्तुष्टि प्रमुखतः शरणार्थीको सुरक्षा र अधिकारका लागि काम गर्दै आएको संयुक्त राष्ट्रसंघीय निकाय युएनएचसिआर (शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोग) माथिको थियो ।

‘हाम्रो फोटो बेचेर उनीहरु (युएनएचसिआर) खान्छन्, हाम्लाई भने यस्तो छ’ राम मन्दिरमा रहेको रोहिंग्या शिविरमा केहीबेर बिताएपछि उनले हामीसँग भने, ‘काम गर्न नसक्ने भएँ, रोग लागेको छ । परिवार पाल्नै समस्या भयो ।’

दिलको ढाडमा समस्या भएकाले मजदुरी गर्न पनि सक्ने भएका छन् । उनी हरेक दिनजसो महाराजगञ्जमा रहेको युएनएचसिआरको कार्यालय अगाडि आएर दबाबका लागि बस्दा रहेछन् । गएको पाँच महिनादेखि धाए पनि अहिलेसम्म केही भएको छैन ।

दिलले असन्तुष्टि जनाउँदै गर्दा उनी भन्दा एक वर्ष पहिले सन् २०१३ मा नेपाल आएका ४४ वर्षका मोहम्मद आयसले आफ्नो चोट देखाए । उनको बायाँ हातमा खत छ । मोहम्मदका अनुसार म्यानमारमा आफूमाथि भएको आक्रमणबाट बच्ने प्रयासमा हातले छेक्दा लागेको चोटको खत थियो त्यो । त्यहि चोटका कारण मोहम्मद गह्रुंगो सामान उचाल्न नसक्ने भएका छन् । उनले युएनएचसिआरले आफ्नो निर्धारित म्याण्डेड अनुसार प्रदान गरेको शरणार्थी प्रमाणपत्र देखाउँदै पछिल्लो समय केही सहयोग नपाएको बताए ।

राम मन्दिर बाट अलि तल रहेका तीन शिविरका शरणार्थीहरुको गुनासो पनि समान नै थियो । सुरुका वर्षमा रोहिंग्याहरुले सहयोग नपाएका होइनन् । आफूहरुले सन् २०१५ सम्म निश्चित रकम पाउने गरेको र त्यसपछि पूर्ण रुपमा रोकिएको रोहिंग्या शरणार्थीका अगुवा जफर मियाले बताए ।
अहिले पाँच वर्ष पुगेका बालबालिकाको पढाई खर्च तथा उपचारका लागि राहतको व्यवस्था छ । त्यसले आफूहरुलाई गुजारा गर्न सम्भव नरहेको मियाले बताए ।

युएनएचसिआरसँगको असन्तुष्टि


कपन बालुवाखानी, राम मन्दिर आसपासका चार शिविरमा रहेको रोहिंग्या शरणार्थी प्रायः सबैले युएनएचसिआरबाट शरणार्थी परिचय पत्र पाएका छन् । जसले पाएका छैनन् उनीहरुसँग पनि शरणार्थी बन्ने पर्याप्त प्रमाण छन् । तर आफूहरुलाई यो कार्ड ‘घाँडो’ भएको राम मन्दिर शिविरमा सन् २०१३ देखि बस्दै आएका २८ वर्षका रफिक आलमले बताए ।

युएनएचसिआरले आफूहरुलाई शरणार्थीको कार्ड दिएको तर त्यस अनुसार जनजीविकाका लागि साथ नदिएको या भनौँ पूरै वेवास्ता गरेको उनीहरुले आरोप लगाए । यसबारे स्पष्ट रुपमा बोलेका जफर मियाले अहिले आफूहरुको सबैभन्दा ठूलो असन्तुष्टि युएनएचसिआरसँगै रहेको बताए ।

जफरसहितका रोहिंग्याहरुले आफूहरुका नाममा अन्तर्राष्ट्रिय समुदायबाट आएको सहयोग आफूहरुसम्म आइनपुगेको र त्यो बिचमै खाइएको गम्भीर आरोप लगाएका छन् । उनीहरुको आरोपको औँला सीधै युएनएचसिआर तर्फ तेर्सिएको हो ।
इमेल र टेलिफोनबाट सम्पर्क गर्दा युएनएचसिआरबाट कुनै ‘रेस्पोन्स’ पाउन सकिएन ।

स्थानीय तहसँग आधिकारिक स्वीकृति नै लिइएको छैन


अहिले रोहिंग्या शरणार्थीका चार शिविर बुढानीलकण्ढ नगरपालिका–११ मा छन् । तर वडा कार्यालयलाई त्यहाँ बस्दै आएका रोहिंग्याहरुका बारेमा आधिकारिक जानकारी नै दिइएको छैन । आफूहरुसँग कुनै पनि समन्वय नगरिएको र प्रक्रिया पनि पूरा नगरिएको वडा नम्बर ११ अध्यक्ष राजु अधिकारीले बताए ।

वडाध्यक्ष अधिकारीले देश सञ्चारसँग भने, ‘यहाँ चारवटा शिविरमा बसेका रोहिंग्याहरुको बसोबास सम्बन्धी कुनै पनि प्रक्रिया पूरा भएको छैन । उनीहरु अवैध रुपमा बसेका हुन् । कतिको संख्यामा छन् भन्ने पनि यकिन तथ्यांक दिइएको छैन । युएनएचसिआरका प्रतिनिधिहरु आउनु हुन्छ, कार्यक्रम पनि हुन्छन् तर बसोबासको प्रक्रिया भने पूरा भएको छैन ।’

स्थानीय बासिन्दाबाट शरणार्थी बस्तीका कारण आफूहरुलाई असजिलो भएको गुनासो आइरहेकाले कि प्रक्रिया पूरा गर्न वा सम्बन्धित निकायले जिम्मा लिनका लागि भनिएको वडाध्यक्ष अधिकारले बताए ।

उनले भने, ‘कि त आधिकारिक जिम्मा लिने आउनु पर्यो, होइन हामी शिविर डोजर लगाएर भत्काउँछौँ । उनीहरुले सरेर जाने हो भनेका छन् । तर अहिलेसम्म सरेका छैनन् र जिम्मा लिने पनि कोही आएका छैनन् ।’

जग्गा भाडामा दिने जग्गा धनीलाई पनि वडा कार्यालयबाट चिट्ठी नै काटेर कि तपाईँहरु आफैले जिम्मा लिनुस् नभए भोलि केही भएमा तपाईँहरु पनि समस्यामा पर्न सक्नु हुन्छ भनेर जानकारी गराएको वडाध्यक्ष अधिकारीले बताए ।

राम मन्दिर भन्दा तल रहेका तीन शिविर तत्काल सार्ने तयारी छैन रोहिंग्याहरुका अनुसार, किनकी त्यहाँ नयाँ टहराहरु बनाउने काम भइरहेका छन् । तर राम मन्दिरमा रहेको शिविर सार्ने तयारीमा छन् रोहिंग्याहरु ।

उनीहरुले शिविर सार्नका लागि बुढानीलकण्ठ नगरपालिका–१३ (साबिकको चुनिखेल गाविस–९(क), डोल) मा चार रोपनी जग्गा भाडामा लिएर टहरा बनाउन थालेका थिए । उनीहरुले त्यसको जानकारी वडा कार्यालयलाई गएराका थिएनन् । स्थानीय बासिन्दाले वडाकार्यालयमा गुनासो गरेपछि वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले चासो दिए ।

आफूले जग्गावाला र रोहिंग्या तथा उनीहरुको पक्षमा काम गर्दै आएकाहरुलाई कानुनी प्रक्रिया पूरा गर्न वा जिम्मा लिन भनेको वडाअध्यक्ष श्रेष्ठले बताए । वडाअध्यक्ष श्रेष्ठसँग यसबारे बुझ्दा उनले भने, ‘डोलमा चार रोपनी जग्गा एक रोपनीको वार्षिक ३५ हजार रुपैयाँ (यसको १० हजार मध्यस्तकर्ताले लिने गरी) का दरले भाडामा लिएर टहरा बनाउन थालिएको थियो । मैले थाहा पाएपछि प्रशासनसहितको टोली गएर कि त तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुस् होइन भने भोलि हुन सक्ने सबै सम्भावित घटनाको जिम्म लिनुस् भन्दा जिम्मा पनि लिन मानेनन् र कानुनी प्रक्रिया पनि पूरा गरेनन् ।’

त्यसपछि आफूले शिविर बनाउन स्वीकृति नदिएको उनले बताए । स्वीकृति नदिएपछि शरणार्थीको पक्षमा काम गर्दै आएकाहरुले आफूलाई प्रलोभन देखाएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

उनले भने, ‘मलाई विभिन्न पक्षबाट लोभ देखाउने खालका गतिविधि पनि भए । युएनएचसिआरका प्रतिनिधिसँग मैले कि तपाईँहरु जिम्मा लिनुस् होइन भने सबै जिम्मा तथा तथ्यांक हामीलाई दिनुस् भन्दा उहाँहरु दुवै कुराका लागि तयार हुनु भएन । मानवीयताका आधारमा शिविर बनाउन दिन उहाँहरुले आग्रह गर्नु भएको थियो । तर मेरो पहिलो प्राथमिकतामा मुलुकको कानुन र यो वडाका बासिन्दा पर्छन् । यसले गर्दा स्वीकृति दिइनँ ।’

डोलमा शिविर बनाउन नपाएका रोहिंग्या शरणार्थीहरुले आफूहरुले दक्षिणकाली नगरपालिका पनि पनि टहरा हाल्न खोजेको तर ‘शरणार्थीलाई दिँदैनौँ’ भनेपछि आफूहरुले त्यहाँ पनि बनाउन नसकेको बताए । दक्षिणकालीका मेयर मोहन बस्नेतले भने आफ्नो नगरपालिकामा रोहिंग्याहरुले टहरा बनाउन खोजेको वा त्यसका लागि प्रयास गरेको बारे जानकारी नरहेको बताए ।

आफ्नो देश छोडेर पूर्णरुपले भिन्न परिवेशमा आएर बस्नु त्यो पनि शरणार्थीका रुपमा कठिन कुरो हो । रोहिंग्या शरणार्थीहरु अहिले त्यहि अप्ठ्यारोमा छन् । तर बाहिरबाट आउनेहरुबाट स्थानीय बासिन्दालाई अप्ठ्यारो पर्छ भने त्यसलाई गम्भीर रुपमा लिनै पर्छ ।

अहिले कपन आसपासमा रहेका रोहिंग्या शरणार्थीहरु र उनीहरुसँग जोडिएर आएका कुरामा शरणार्थीको पक्षमा काम गर्दै आएका युएनएचसिआरसहितका संस्था, सरकार, स्थानीय तह, रोहिंग्या र स्थानीय बासिन्दा बिच बृहत छलफल तथा समन्वयको खाँचो छ जुन अहिले पूर्णतः शून्यको अवस्थामा रहेको छ ।

( नेपालमा शरण लिइरहेका रोहिंग्या शरणार्थीहरुबारे टंक ढकालले चार भागमा विशेष रिपोर्ट तयार गरेका छन्। हामीले ‘जो शरण खोज्दै दूर नेपालसम्म आइपुगे ‘शिर्षकमा भाग -१ प्रकाशन गरिसकेपछि आज  ‘रोहिंग्याको आक्रोशको निशानामा परेको छ राष्ट्रसंघीय शरणार्थी उच्चायोग ‘ शिर्षकको  रिपोर्ट प्रकाशन गर्‍यौँ । हामी हरेक दिन देशसञ्चारमा रोहिंग्या शरणार्थीबारेका विशेष रिपोर्ट प्रकाशित गर्नेछौँ। यसका सबै तस्बिर र भिडियोहरु बर्षा शाहले खिचेकी हुन्।)

अशोज १४, २०७५ मा प्रकाशित