बलात्कार लगायत हिंसाका समाचार लेख्‍दा संयमता अपनाउनुस्-उपप्रमुख मिश्र

जनकपुरधाम- बलात्कार लगायतका घटनाहरुको समाचार सम्प्रेषण गर्दा संयमता अपनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

कृयाशील पत्रकार महिला धनुषाले आयोजना गरेको महिला हिंसा न्युनीकरणमा सञ्चारको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रममा वक्ताहरुले बलात्कार जस्ता घटनाहरुको समाचार पीडितलाई झनै पीडित बनाउने गरी सम्प्रेषण गर्न नहुनेमा जोड दिए।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रीता मिश्रले महिला जनप्रतिनिधिहरु नै दैनिक हिंसाको शिकार हुँदै आईरहेको समयमा झन सामान्य महिलाहरुको स्थिति के होला सहजै अनुमान लगाउन सकिने बताइन्।

उपप्रमुख मिश्रले भनिन् ‘यहाँ त न्यायिक समितिको संयोजक जस्को काँधमा हिंसामा परेकाहरुलाई उद्धार गर्ने जिम्मेवारी परेको छ जब उनी स्वयं विभेद र हिंसाबाट अछुत छैनन् भने जनताले भोग्नुपरेको पीडाबारे त भन्‍न समेत कठिन छ।’

नेपाल पत्रकार महासंघ प्रदेश-२ को महासचिव किरण कर्णले सञ्‍चारकर्मीहरु बलात्कारका समाचार सम्प्रेषण गर्दै आएपनि यस्ता घटनाहरु बढ्दै गईरहेको प्रति चिन्ता व्यक्त गरे।उनले अब सञ्‍चारकर्मीहरुलाई पीडकलाई निरुत्साहित गर्ने गरी समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ धनुषाकी उपाध्यक्ष मनिका झाले देशकै आधा जनसंख्या ओगटेको महिलाहरु विभेदमा पर्नु ठूलो हिंसाको नमूना रहेको बताइन्। उनले बलात्कार मात्रै महिला हिंसाको उदाहरण नरहेको भन्दै दिनहुँ महिलाहरु कयौं प्रकारको हिंसामा पर्दै आएको बताइन्।

कृयाशील महिला पत्रकार धनुषाकी अध्यक्ष रिङ्कु कुमारी मिश्रको अध्यक्षतामा सम्पन्‍न भएको सो कार्यक्रममा सञ्‍चारकर्मीहरुले समेत आ-आफ्नो मन्तव्य राखेका थिए।

असोज १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्