#हेमकार परिवार हत्याकाण्ड

परिवारकै हत्या गर्ने १३ वर्षपछि पक्राउ

नेपालगञ्ज-१३ वर्षअघि नेपालगञ्जका एक सुन व्यवसायीको परिवारकै हत्या गरेको आरोपमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

२०६२ फाल्गुन २३ गते नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोक नजिकै रहेको दीप ज्वैलर्सका सञ्चालक दीपक हेमकारसहित पाँच जनाको हत्या भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोदेखि जिल्लामा आउने सबैजसो प्रहरी प्रमुखको चासोको मुद्दा बनेको हेमकार हत्याकाण्डका आरोपी किशोरीलाल सोनीलाई प्रहरीले पक्राउ गरेको हो।

भारतको सीतापुर जिल्ला बासुवा बजारमा घर रहेका किशोरीलाल दीपकका ससुरा हुन्। उनी अहिले लखनउको प्रियादर्शनी कलोनीरोडमा बस्दै आएका थिए। बाँके प्रहरीका मुद्दाफाँट इन्चार्ज रणबहादुर विष्टले किशोरीलाललाई नेपालगञ्ज नाकामा आएको मौका पक्राउ गरेको बताए। किशोरीलाल, दीपककी श्रीमतीलगायतलाई प्रहरीले खोजी गरिरहेको थियो। दीपक श्रीमती फरार रहेकी छन्।

त्यो हत्याकाण्डमा ३२ वर्षका दीपक, ६२ वर्षका बुवा जगदेव, आमा सीतादेवी, हजुरआमा ८२ वर्षकी गुलाबीदेवी र कुसुम घर भएका कामदार रामसनिचर चौधरी मारिएका थिए। पछाडीको ढोकाबाट भित्र पसेका हत्याराले घरमा पालेको सुँगासमेत मारेका थिए।

नेपालगञ्जको व्यस्त बजारमा परिवारकै हत्या भएपछि नेपालगञ्जमा खैलाबैला मच्चिएको थियो। स्थानीयले केही समय आन्दोलनसमेत गरेका थिए। स्थानीयवासीले सुरक्षामा प्रश्न चिन्ह उठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान टोली आएर घटनाको अनुसन्धान गरेको थियो। त्यसका बाबजुद पनि हत्यारा पक्राउ पर्न सकेका थिएनन्। त्यसयता नेपालगञ्जमा सरुवा भएर आउने प्रहरी प्रमुखलाई हेमकार काण्डको हत्यारा पक्राउ गर्न नसकेको अवगत गराइन्थ्यो। प्रहरी प्रमुखले पनि आफूले त्यो फाइललाई खोलेर सुक्ष्म ढंगले अनुसन्धान गर्ने आश्वासन दिदै आएका थिए।

सुन व्यवसाय रहेका हेमकारलाई श्रीमती दीपाको मिलोमतोमा माइती पक्षले मारेको आशंका गरिएको थियो। हेमकारकी श्रीमती माइती (भारत) तिरै बसेपछि बल मिलेको थियो। प्रहरीले घटनामा माइती पक्षकै आशंका गरेर अनुसन्धान अघि बढाएको थियो। ‘किशोरीलाल पक्राउ परेका छन्, अब उनले सत्य कुरा खोल्लान्, मुद्दाफाँटका इन्चार्ज विष्टले भने, किशोरीलाल, हेमकारकी श्रीमतीलगायत केही व्यक्ति प्रहरीको लिष्टमा छन्।’

घरको दुईतला माथि नै पाँचै जनाको घाँटी रेटेर हत्या गरिएको थियो। सबैको रुद्रीघण्टी काटिएको थियो। घटनापछि श्रीमती दीपाले सबै सम्पत्ति २०६३ जेठ १४ गते आफ्नो नाममा पास गरेकी थिइन्। उनले सबै जग्गा बेचिसकेकी छन्। उक्त जग्गा नेपालगञ्जका विभिन्न व्यक्तिको नाममा रहेको छ।

१३ वर्षपछि हेमकार परिवारको हत्याकाण्डका आरोपी पक्राउ परेपछि नेपालगञ्जका अर्का गौरव रस्तोगीको घटना पनि बाहिर आउने आशा गरिएको छ। गौरवलाई अपहरण गरी अहिलेसम्म बेपत्ता बनाइएको छ। यो घटना पनि दशक पुरानो हो।

असोज १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्