मोहम्मद हत्यामा संलग्‍न दुई पक्राउ

काठमाडौ- विराटनगर वडा नम्बर-१७ निवासी मोहम्मद अस्फाकका हत्यामा संलग्न रहेकालाई जिल्ला प्रहरी कार्यालय मोरंगले पक्राउ गरेको छ।

प्रहरी कार्यालय मोरंगमा आइतबार हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। मोरंग प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार १६ वर्षिय अस्फाकको हत्या फिरौती रकम माग गर्दै उनकै साथीद्धारा भएको थियो।

एसपी केसीले भने, ‘पक्राउ परेका २० वर्षीय सद्धिम हुसेन र २१ वर्षीय महोम्मद आरिफ आलमले अपरहण गरेको नाटक गर्दै अस्फाकका पितासंग ५० लाख रुपैया फिरौती मागेको थियो।’

यसक्रममा परिवार र दुइ युवकबीच फिरौती रकममा बार्गेनिंग भएको बताएका एसपी केसीले भने, ५० लाखको कुरा अन्तत ५ लाखमा सहमति नजिक पुगेको थियो। यद्धपि अस्फाकको भने बेपत्ता भएको दिन असोज १ गते रातिको समय नै हत्या भइसकेको थियो।

त्यसपछि, अस्फाकको परिवारबाट रकम हत्याउने योजनामा रहेका हुसेन र आलमले अस्फाकले लगाएको कपडा सिमेन्टको बोरामा राखेर घरसम्म पुराएका थिए। हत्यामा संलग्न भनिएका दुवै जना अस्फाकका साथी हुन्।

यसबीच असोज ७ गते विहान वडा नम्बर १४ र १७ को सीमामा पर्ने एक नालाको ह्युमपाइप भित्र शव लुकाइएको अवस्थामा फेला परेको थियो। धानखेत र एकान्त सो क्षेत्रमा दुर्गन्ध आउन थालेपछि प्रहरीले स्काभेटरको मद्धतबाट कुहिएको शव बरामद गरेको थियो।

शवको अनुहार कुहिएको, मासुविहीन अवस्थामा खप्पर, र शरीरका अधिकांश भाग कुहिएको अवस्थामा फेला परेको थियो। सो समय शव कसको र कहिले राखिएको खुलेको थियो।

शव बरामदपछि केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मोरंग र इलाका प्रहरी कार्यालय रानीले संयुक्तरुपमा घटनाको अनुसन्धान सुरु गरेको थियो।  यसबीच प्रहरीले शव फेला परेको एकसातापछि हत्यामा संलग्न रहेकालाई पक्राउ गरि सार्वजनिक गरेको हो।

पक्राउ परेका दुवै जनालाई अपहरण शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्धा अन्र्तगत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

असोज १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्