रोनाल्डोमाथि बलात्कारको गम्भीर आरोप

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएको सम्बन्धी खबर रोनाल्डोले खारेज गरेका छन् ।

एक अमेरिकी महिलाले आफूलाई पोर्चुगिज फुटबलर रोनाल्डोले सन् २००९ मा बलात्कार गरेको आरोप लगाएको सम्बन्धी खबर आएको थियो ।

आफूमाथि लागेको आरोप गम्भीर र पूर्ण रुपमा कपोलकल्पित रहेको भन्दै रोनाल्डोले यस सम्बन्धी समाचार ‘फेक’ भएको भन्दै खण्डन गरेका हुन् ।

रोनाल्डोले इन्स्टाग्राममा भिडियो पोस्ट गरेर खबरको खण्डन तथा आफूमाथि लागेको आरोप बारे बोलेका हुन् । इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा रोनाल्डोले भनेका छन्, ‘उनीहरु मेरो नाम प्रयोग गरेर आफ्नो प्रमोट गर्न चाहन्छन् । यो सामान्य हो ।’


रोनाल्डोका वकिलले आरोप सम्बन्धी झुठो खबर पहिलो पटक प्रकाशित गर्ने जर्मन म्यागजिन डेर स्पिइगल विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । म्यागजिनले अमेरिकी महिला क्याथरिन मायोर्गाले लस भेगासमा रहेको होटलको कोठामा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएको भन्दै खबर छापेको थियो ।

३४ वर्षकी ती महिलाले घटना लगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको र सन् २०१० मा रोनाल्डोसँग कुरा मिलेको र अदालत जानु नपरेको खबरमा उल्लेख गरिएको छ ।

रोनाल्डोसँग घटना सार्वजनिक नगर्ने गरी तीन लाख ७५ हजार अमेरिकी डलरको सम्झौता भएको खबरमा उल्लेख गरिएको छ । तर ती महिलाको वकिलले अहिले आएर सार्वजनिक नहुने सम्बन्धी सम्झौता प्रभाव हिन बनाउने तरिका खोजिरहेका छन् ।

रोनाल्डोका वकिल क्रिष्टियन शेर्ट्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताएका छन् । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन् ।

यो आरोप पछिल्ला वर्षमा व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको रोनाल्डोका वकिलले बताएका छन् । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् ।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्