फर्किए यू-१८ नेपाली राष्ट्रिय फुटबल टोली

‘आयोजकको कमीकमजोरीले यू-१८ मा च्याम्पियन्सीप हार्नु पर्‍यो’

मोरङ-भारतको आगरामा सम्पन्न १८ वर्षमूनिको विद्यालयस्तरीय एशियन च्याम्पियन्सीप फुटबलमा आयोजकको कमीकमजोरीका कारण पराजित हुनुपरेको नेपाली राष्ट्रिय टोलीले बताएको छ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले आयोजक पक्षको प्राविधिक कमजोरीका कारण टोली पहिलो खेलमा थाइल्याण्ड र इन्डोनेशियाविरुद्ध पराजित हुन परेको स्पषट पारे।

उनले भने, “फिफा रेफ्रीको स्थानमा त्यहा राष्ट्रिय रेफ्रीबाट खेल खेलाई गलत निर्णयको शिकार आफूहरु बन्नु परेको भन्दै हारको बचाव गरेका थिए। रेफ्रिद्धारा थाइल्याण्डविरुद्ध फ्रिकिकको गलत निर्णय, खेलाडीमाथि अनावश्यक रुपमा रेडकार्ड दिने घटनाक्रमले हार व्‍यहोर्नुपरेको परो।”

प्रतियोगिताको ४६ औं संस्करणमा पहिलोपटक सहभागि नेपाली टोलीका क्याप्टेन दिनेश हेन्जनले वातावरण अनुसार विराटनगरमा राखिएको एकमहिनाको बन्द प्रशिक्षणले धेरै राम्रो साथ दिएको बताए। यद्यपि खेलमा हारको सन्र्दभमा भने क्याप्टेन हेन्जनले भने,“अन्र्तराष्ट्रिय एक्सपोजर पायौं। युवा टोलीबीचको खेल प्रतिस्पर्धात्मक थियो। केही गलत निर्णयको सिकार हुनुपर्‍यो।”

एकदिन आरामको तालिका भएपनि आयोजकले आगरा पुगेको भोलीपल्ट नै आफूहरुलाई खेलको तालिका रहेको जानकारी दिएको टोली ब्यवस्थापक रुपेश अधिकारीले बताए। मध्यरातमा आगरा पुग्दा खेलाडी अनिधो र थकान मेट्न नपाउदै मैदानमा उत्रनु परेको उनको गुनासो थियो। व्‍यवस्थापकीय हिसाबले धेरै त्रुटि भएको बताएका अधिकारीले भने, “मैदान र खेलाडी बसेको होटलकै दुरी कम्तीमा डेढ घण्टाको दुरीमा रहेको थियो। जसका कारण खेलाडी थाकित बनेका थिए।”

आइतबार बेलुका काकडभिट्टा हुदै स्वदेश फर्किएको राष्ट्रिय टोलीका स्वागतका लागि फुटबल संघका पदाधिकारीको उपस्थिती थिएन। यद्धपि पत्रकार सम्मेलनमा समेत जिल्ला पदाधिकारीको उपस्थित नहुनुले राष्ट्रिय टोलीलाई महत्व नदिएको गुनासो टोलीका एक खेलाडीले गरेकाछन्। “यहां जित्दामा हाइ हाइ हुनेरहेछ, खेलेर आयौं संघका पदाधिकारी कसैले जानकारीसम्म लिन आएनन्”, उनले गुनासो गरे।

प्रतियोगितामा समूह ए मा रहेको नेपाली टोली छैठो स्थानमा खुम्चिरहदां थाइल्याण्ड, इन्डोनेशियासँग पराजय ब्यहोर्न बाध्य भएको थियो।त्यसैगरी, चीन र अफगा्निस्तानको टोलीमाथि जित दर्ता गरेको थियो। प्रतियोगिताको उपाधि पूर्वविजेता थाइल्याण्डले हात पारेको थियो।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्