एक महिनाभित्र संघीय सरकारले कर्मचारी नपठाए आफैं भर्ना गर्छौं : मुख्यमन्त्री राउत

जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र प्रदेशमा कर्मचारी नपठाए प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्ने चेतावनी दिएका छन् ।

संघीयतालाई असफल पार्न केन्द्र सरकारले कर्मचारी नपठाएको आरोप लगाउँदै उनले केन्द्र सरकारकै असहयोगका कारण प्रदेशमा विकास निर्माणको कामले गति लिन नसकेको बताए ।

जनकपुरमा सोमबार जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले संघीयतालाई असफल बनाउन केन्द्र सरकारले अहिलेसम्म प्रदेशमा ५० प्रतिशत पनि कर्मचारी नपठाएको आरोप लगाए ।
उनले भने, यदि एक महिनाभित्र केन्द्र सरकारले कर्मचारी नपठाए हामी आफै कर्मचारी भर्ना गर्छौं।’

एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरू संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उनले त्यो मानसिकतामा परिवर्तन ल्याउन आग्रह गरे ।

कर्मचारीहरूले अहिले पनि पुरानै शैलीमा काम गर्ने गरेको बताउँदै उनले अब कर्मचारीलाई आफ्नो कार्यशैली परिवर्तन गर्न निर्देशन दिए ।
मुख्यमन्त्री राउत अब कुनै कर्मचारीबाट वा राजनीतिककर्मीबाट विकास निर्माणको काममा न त ढिलासुस्ती गर्छौं न त अनियमितता नै गर्ने दाबी गरेका छन् ।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्