दसैं आयो

नेपालगञ्‍ज नाकाबाट दसैं मान्‍न घर फर्किनेहरुको लस्कर

भारतमा रोजगारिका लागि गएका नेपालीहरु रुपैडियाँ नाकाबाट घर फर्किदै। फाइल तस्बिर- कुमार श्रेष्ठ/देश सञ्‍चार

नेपालगञ्‍ज-नेपालीहरुको महान पर्व दसैं नजिकिदै गर्दा कामका लागि बाहिरिएकाहरु फर्किने क्रम बढेको छ। भारतमा रोजगारीका लागि गएकाहरु यतिबेला नेपालगञ्‍ज नाकाबाट लस्कर नै लागेर घर फर्किरहेका छन्।

अरुबेला जेजस्तो भएपनि चाडबाड त घरमै मनाउनु पर्छ भन्दै नेपालगञ्‍ज नाकाबाट घर फर्किनेको संख्या दैनिक एक हजार पाँच सयबढी रहेको छ।
दाङ्गका दिलबहादुर थापा सपरिवार घर फर्किए।पत्‍नी र दुई छोराका साथ भारतको चण्डीगढमा काम गर्न पुगेका थापाले चाडबाड त घरमै रमाइलो गरेर मनाउनु पर्ने बताए।

सल्यानका द्रोण बुढाथोकी पनि घर फर्किएका छन्।भारतको सीमलामा मजदुरी गर्ने बुढाथोकीले अरुबेला जेजस्तो भएपनि चाडबाड त घरपरिवारसँगै बसेर मनाउनलाई आएको बताए।

भारतको विभिन्न शहरमा कामका लागि गएका नेपालीहरु फर्किने चाप बढेसँगै बाँके प्रहरीले नाकामा सतर्कता अपनाएको छ। घर फर्किने नेपाली कोही नलुटिउन् भन्नका लागि नेपाली प्रहरी सादा पोशाकमा सीमावर्ती भारतीय बजार रुपैँडियाँको बस स्टेशनमा पुग्ने गरेका छन्। घर फर्किने नेपालीको चाप बढ्ने बित्तिकै बाटोमा विषादी मिसिएको खानेकुरा खुवाएर वा सुँघाएर लुटपाट गर्ने गिरोह सक्रिय हुने गर्दछ।

नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज शिव ओलीले रुपैडियाँको बस स्टेशनमै गएर नेपाली प्रहरीले रेखदेख गरिरहेको बताए। ‘बिहान ५ बजेतिर बस आउँछ। त्यतिबेला हामीले यहाँबाट सादा पोशाकमा प्रहरी खटाउने गरेका छौं, इन्चार्ज ओलीले भने, अहिलेसम्म कोही लुटिएका छैनन्।’

लुटेराले मात्रै होइन, घर फर्किने नेपालीलाई भारतीय अधिकारीहरुले पनि चेकजाँचका नाममा दुःख दिने गरेको आउने गर्दथ्यो।यसपालि त्यस्तो गुनासो आएको छैन। नेपाली प्रहरीले भारतीय प्रहरीसँग मिलेर घर फर्किने नेपालीको सुरक्षाका लागि समन्वय गरेर अघि बढेका छन्। नेपाल प्रहरीले नाकामा यात्रु सहायता कक्ष स्थापना गरेको छ। घर फर्किदा कस्तो दुःख या हैरानी व्यहोर्नु पर्‍यो ? सहायता कक्षमा सोध्ने गरिएको छ।

नेपालभित्र आइसकेपछि सोझा नेपालीलाई होटल सञ्चालक या रिक्सा, टाँगा सञ्चालकले ठग्ने प्रवृत्ति पुरानै रहेको छ। यसपाली जमुनाहा प्रहरीले होटल सञ्चालकलाई रुपैडिहामै पुगेर तान्ने काम बन्द गराएको छ। इन्चार्ज ओलीले होटल सञ्चालकलाई रुपैडिहामै पुगेर नेपालीलाई जबरजस्ती तानेर आफूसँग लैजाने कार्य बन्द गरेको बताए।

बाँके प्रहरीले सीमामा सुरक्षित गरेर नेपालगञ्ज बसपार्कसम्म पुर्‍याउने रणनीति बनाएको छ। प्रहरीले बसपार्कमा पनि यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ। नाकाबाट बसपार्कसम्म आउदा या बसपार्कबाट घरतर्फ जादा बढी भाडा लियो कि भन्‍ने सचेत गराउन प्रहरी लागि परेको छ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले बसपार्कमा नागरिक सहायता कक्ष राखेर सचेतना बढाउने तयारी भएको बताए।
५ र ६ नम्बर प्रदेशका पहाडी जिल्लाका मानिसहरु भारतका चण्डीगढ, सीमला, कालापहाड, प्रयागलगायतका ठाउँमा काम गर्न जान्छन्।

आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने पहाडी जिल्लाका मानिसहरु अफसिजनमा काम गर्न जाने र खेती लगाउने तथा चाडबाडका बेलामा घर फर्किने गर्दछन्। दशैं र तिहारमा नेपालगञ्ज नाकाबाट दैनिक तीन हजारसम्म नेपाली फर्किने गर्दछन्।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्