स्थायी राजधानीबारे प्रदेश एकमा नेकपा संसदीय दलको बैठक

काठमाडौं- प्रदेश नम्बर एकको प्रदेश सभा बैठक गतिविधि र स्थायी राजधानीको विषयमा समीक्षाका लागि नेकपाको संसदीय दलको बैठक बसेको छ।

सोमबार साझ विराटनगरमा सम्पन्न भएको बैठक राजधानीको विषयमा केन्द्रित भएको बताइएको छ। दुई दिवसीय बैठकको पहिलोदिन प्रदेशसभामा भएको कामकार्वाही तथा क्रियाकलापको विषयमा पनि समीक्षा भएको समाजिक विकास तथा योजनामन्त्री जीवन घिमिरेले जानकारी दिए।

मन्त्री घिमिरेले विशेषत बैठकमा सैद्धान्तिक कुरामा छलफल भएको बताए। बैठकमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले विषयगत रुपमा भनाइ राखेको बताएका मन्त्री घिमिरेले राजधानीको विषयमा प्रवेश भएको उल्लेख गरे।

बैठकमा मुख्यमन्त्री राईसँगै नेकपाका प्रदेश नम्बर एक इन्चार्ज एवं सांसद भीम आचार्य, त्यसैगरि सांसद राम राना र सुनिता चौधरीले बोलेका थिए। बैठकमा सहभागि एक सांसदका अनुसार, छलफलमा बोल्दै मुख्यमन्त्री राईले सबैलाई जिम्मेवारीपूर्वक बोल्न आग्रह गरेका थिए।

उनका अनुसार, मुख्यमन्त्री राईले कतै कसैसँग आग्रह पूर्वाग्रह नराखीकन प्रदेशवासी माझ प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए।प्रदेशको नामांकन र राजधानीको सन्दर्भमा सबै प्रतिनीधिहरुमा जिम्मेवारीपूर्वक बोल्न आग्रह गरेका मुख्यमन्त्री राईले आफ्नो नजिक टाढा नसोचिकन समग्र प्रदेशवासीको हितमा कुरा गर्न सुझाव दिएको उनको भनाइ छ।

पछिल्लोसमय मुख्यमन्त्री राईको किचन क्याबिनेटभित्र राजधानी तथा अन्य विषयमा फरक फरक धारणा सार्वजनिक हुदै आएको छ। मुख्यमन्त्री राईले केन्द्र र प्रदेशबीच समन्वय र सहकार्य भइरहेको बताइरहदा आर्थिक मामिला मन्त्री इन्द्र आंग्बोले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकको एक कार्यक्रममा केन्द्रीय सरकारका कारण संघीयता कार्यान्वयनमा असर पर्दै गएको अभिब्यक्ति दिएका थिए।

त्यसैगरी, मुख्यमन्त्री राईले राजधानीलाई विकेन्द्रित रुपमा अघि बढाउनु पर्नेमा जोड दिएका थिए। जसको उनकै किचन क्याबिनेट भित्रपनि चर्को आलोचना भएको बताइन्छ। यद्धपि, प्रदेशको राजधानी विकेन्द्रित गर्ने प्रस्ताव औपचारिक रुपमा कतै नराखेको मुख्यमन्त्री निकट स्रोतले दाबी गरेको छ।

तथापी, सामाजिक सञ्‍जाल र सञ्‍चारमाध्याममा प्रदेशको कार्यपालिका विराटनगर राख्ने, व्यवस्थापिका इटहरी राख्ने, प्रदेश प्रमुखको कार्यालय धनकुटा वा धरानमा र केही मन्त्रालयहरु इलाम र उदयपुरमा राख्ने गरी विकेन्द्रित राजधानीको अवधारणा मुख्यमन्त्री राईले राखेको सार्वजनिक भइरहेको छ।

असोज १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्