रोनाल्डोमाथि बलात्कारको आरोप : अनुसन्धान फेरि सुरु

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपका बारेमा लस भेगास प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ ।

३४ वर्षकी शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी हुन् । क्याथरिन त्यो बेला मोडल थिइन् ।

लस भेगासमा रहेको पाल्म होटल र क्यासिनोको बाथरुममा सन् २००९ को जुन १३ को बिहान रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी हुन् । आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।

३३ वर्षका रोनाल्डोले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् र समाचार फेक रहेको बताएका छन् । आफ्नो नाम प्रयोग गरेर प्रमोट हुन चाहेर यस्तो आरोप आफूमाथि लगाइएको रोनाल्डोको भनाई छ ।

लस भेगास प्रहरीले सोमबार घटनाको सम्बन्धमा अनुसन्धान पुनः सुरु भएको जानकारी दिएको हो ।

क्याथरिन र रोनाल्डोबिच पाल्ममा रहेको रेन नाइट क्लबमा भेट भएको थियो । रोनाल्डो बिदा मनाउनका लागि जाँदा त्यहाँ बसेका थिए ।

क्याथरिनले घटनाबारे दाबी गर्दै आफू लुगा बिग्रिन्छ भनेर रोनाल्डोको होटल रुममा रहेको बाथ टपमा बस्न अस्वीकार गरेको र रोनाल्डोले एथ्लेटिक हाफ पाइन्ट तथा टि सर्ट दिएर बाथरुममा चेन्ज गर्न ठाउँ दिएको उल्लेख गरेकी छन् ।

आफूले लुगा फेरिरहेका बेला रोनाल्डो बाथरुममा छिरेको र लिङ्ग देखाउँदै यौन कार्यका लागि आग्रह गरेको क्याथरिनले अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।

क्याथरिनका साथमा लस भेगासको नाइट क्लबमा रोनाल्डो ।

अदालतमा पेश गरिएको कागजात अनुसार क्याथरिनले अस्वीकार गरेको र होटल छोडन् चाहेको तर रोनाल्डोले उनलाई तानेर बिस्तारामा लगेर यौन सम्बन्ध कायम गर्न खोजेको उल्लेख गरिएको छ ।

त्यसपछि उनले आफूलाई रोनाल्डोले बलात्कार गरेको क्याथरिनको दाबी छ । यौन सम्बन्ध कायम गरेपछि रोनाल्डोले माफी माग्दै बेडरुम छोडेको अदालतमा पेश गरेको कागजातमा उल्लेख गरिएको छ ।

जर्मन म्यागजिन डेर स्पिइगलसँग क्याथरिनले भनेकी छन्, ‘रोनाल्डो ९९ प्रतिशत जेन्टलम्यान हुन्, तर एक प्रतिशतले मलाई निराश पारे ।’

अदालतमा पेश गरिएको कागजातमा रोनाल्डोले क्याथरिनसँग यौन सम्बन्ध कायम भएको तर त्यो सहमतिमा रहेको उल्लेख गरिएको छ ।

क्याथरिनले घटनाबारे त्यो बेला नै प्रहरीमा उजुरी दिएको तर सन् २०१० मा रोनाल्डोसँग तीन लाख ७५ हजार अमेरिकी डलर लिने गरी सहमति गरेकी थिइन् । अहिले आएर उनले फेरि घटनालाई बलात्कारको रुप दिँदै मुद्दा दायर गरेकी हुन् ।

रोनाल्डोका वकिल क्रिष्टियन शेट्र्जले स्पिइगलमा छापिएको खबर गैरकानुनी र गम्भीर रहेको बताएका छन् । खबरका कारण रोनाल्डोको नैतिकतामाथि भएको असरको क्षतिपूर्तिको दाबीसहित मुद्दाको तयारीमा रहेको बताएका छन् ।

यो आरोप पछिल्ला वर्षमा व्यक्तिगत अधिकारमाथिको सबैभन्दा ठूलो प्रहार वा उल्लंघन रहेको रोनाल्डोका वकिलले बताएका छन् । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । रोनाल्डो विश्वका सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छन् ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्