दसैँ मनाउन घर आउँदै गरेका नेपाली बसमा मृत

नेपालगञ्ज – भारतको सीमलामा काम गरेर दसैँ मनाउन घर फर्किएका एकजना मृत भेटिएका छन् ।

युके ०७ पीए १४६२ नम्बरको बसमा सीमलादेखि रुपैडिहा आइरहेका सुर्खेत गुमी–१ का ७० वर्षका हर्कबहादुुर नेपाली मृत भेटिएका हुन् । दम र खोकीको औषधीसमेत साथमा भेटिएका नेपालीको बसमा कतिबेला मृत्यु भयो खुलेको छैन ।

रुपैडिहामा आइपुग्दा मृत भेटिएपछि नाकामा रहेको जमुनाहा प्रहरीलाई खबर गरिएको थियो । जमुनाहाबाट गएको प्रहरी र रुपैडिहाका प्रहरीले नेपालीको झोला हेर्दा दम र खोकीको औषधी, दुई हजार ६ सय भारतीय रुपैयाँ फेला परेको छ ।

दसैँ मनाउन घर फर्किने नेपालीको चाप बढिरहेको बेलामा लुटेराको बिगबिगी बढ्ने गर्दछ । बृद्धको हकमा भने लुटेराको हात नदेखिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज शिव ओलीले बताए ।

‘झोलामा औषधी रहेकाले उनी दम र खोकीको बिरामी देखिन्छन् । बसमा आउदा के भएर मृत्यु भयो, बुझ्दैछौँ, ओलीले भने, घरपरिवारलाई खबर गरिसकेका छौँ । आउदैछन् ।’ शवलाई पोष्टमार्टमका लागि रुपैडिहा प्रहरीले बहराइच पठाएको छ ।

सीमलाबाट रुपैडिहा आएको बसमा नेपालीहरु धेरै रहेपनि नेपालीलाई चिन्ने कोही थिएनन् । उनी बसमा एक्लै चढेको पाइएको छ ।
साविकको मध्यपश्चिमका पहाडी जिल्लाका मानिसहरु फुर्सदमा भारतमा गएर कमाई गर्ने र खेती लगाउने बेला तथा चाडबाडमा घर फर्किने गर्दछन् । यतिबेला नेपालगञ्ज नाकामा दसैँमा घर फर्किनेको लर्को नै देखिन्छ ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्