नेपालमा रोहिंग्या शरणार्थीहरु–४

नेपालमा ज्वाईँ बनेका यी रोहिंग्या शरणार्थी

नामै नसुकेको देशसम्म त्यो पनि एक्लै गरेको स्वैच्छिक यात्रा अनुकुल परिस्थितिमा बहादुरीको गाथा बन्छ । तर बाध्यता र प्रतिकुल परिस्थितिको त्यस्तो यात्रा अनिश्चित भविष्य तर्फको फड्को बन्न पनि सक्छ । त्यस्तै फड्को मान विवश पात्रा हुन् नूर मोहम्मद ।

नूर २५ वर्षका भए । उनी नेपाली होइन्, म्यानमारमा भड्किएको हिंसाबाट ज्यान जोगाउनका लागि सुरक्षित ठाउँको खोजी गर्दागर्दै उनी नेपाल आइपुगेका हुन् ।

नूर शरणको खोजीमा नेपाल आउने पहिलो रोहिंग्या शरणार्थी पनि हुन् ।

उनको नेपाल यात्रा सोचिएको यात्रा थिएन । सन् २०१२ को सुरुमा उनी म्यानमारको मण्डुबाट त्यहाँ भड्किएको हिंसाबाट जोगिनका लागि बंगलादेश पशे । त्यहाँबाट भारत अनि जोगबनी हुँदै नेपाल आइपुगेका हुन् ।

१८ वर्षका थिए त्यो बेला नूर । काठमाडौँ आएपछि उनको नयाँ जीवन संघर्ष सुरु भयो । विलकुलै नयाँ परिवेशमा आएका नूरले मुस्लिम समुदायको खोजी गर्दै जाँदा काठमाडौँको नारायणथानमा पुगे ।

त्यसपछि त्यहिँका मुस्लिम समुदायको आश्रयमा बसे । ८ कक्षासम्मको पढाइ गरेका नुरले नारायथानका मुस्लिम समुदायका बालबालिकालाई कुरान र मुसलमान धर्मसँग सम्बन्धित कुरा पढाउन थाले । रोजीरोटी त्यसैबाट चल्यो ।

त्यहि वर्षका मध्य तथा सन् २०१३ मा थप रोहिंग्याहरु नेपाल आए । एक्ला नूरलाई सांस्कृतिक र भाषिक समानता भएका आफ्नो ठाउँमा दाजुभाइ भेटिए ।

केही वर्ष नारायणथानमै बसेका नूर झण्डै तीन वर्षअघि बुढानीलकण्ड नगरपालिका–११ कपन राम मन्दिरमा बनाइएको रोहिंग्या शरणार्थी शिविरमा सरे ।

एक्लै आएको नेपालमा जोडिएको सम्बन्ध


हुन त नूर एक्लै आएका थिए । केही महिनापछि म्यानमारका केही अन्य रोहिंग्याहरु पनि आएपछि उनको एक्लोपन केही हदसम्म कम भयो । र पनि उनको मन यहाँ बसेको थिएन । रोगका कारण बुवा बिते पनि घरमा भएकी आमा र दिदीको सम्झनाले उनको मन पिरोलिन्थ्यो । परिस्थितिले आमा पनि नेपाल आएपछि उनको चिन्ता केही कम भएको छ ।

तर यहि मन पिरोलिएको ठाउँमा उनले जीवन साथी अर्थात प्रेम भेट्टाए । तीन देश काटेर आएका नूरले नेपाली युवतीसँग विवाह गरेका छन् ।

नूरको विवाह नारायणथानकी युवती समसरीसँग विवाह गरे । १२ कक्षासम्मको अध्ययन पूरा गरेकी समसरीको नाम विवाहपछि रोहिंग्या संस्कार अनुसार साहिरा बेगम राखिएको छ ।

एक्ला नुरले साहिराको साथ पाए, त्यो पनि जीवन साथीको रुपमा । आफ्नो विवाहको प्रशंग बारे सम्झँदा नूर केही लाज मानेको जस्तो देखिन्थे । उनले आफूले चिनेकी एक नेपाली दिदी मार्फत विवाहको प्रस्ताव साहिराको परिवारमा लगेका रहेछन् ।

साहिराको परिवारले पनि उनलाई चिनेकाले विवाहका लागि मन्जुरी दिए । नुरको जीवनमा रंग थपियो । अहिले उनी घरमा रंग लगाउने काम गर्छन् र आफ्नो समुदायमा मौलवी अर्थात धर्म गुरुको काम पनि गर्छन्।

साहिराले शिविरमा रहेका रोहिंग्या बच्चाहरुलाई बढाउँछिन् ।

खुलेका विकल्पहरु


नूरसँग हाम्रो भेट कपनमा रहेको रोहिंग्या शरणार्थी शिविरबाट केही पर चौतारीमा भएको हो । उनी साँझ पर्नै लागेका बेला माथि डाँडोमा रहेको चौतारीमा बसेर तल रहेका घरहरु हेर्दै थिए ।

टाउकोमा तकीया (समारोहहरुमा मुस्लिमहरुले लगाउने टोपी) लगाएका र जुँगा काटेका तर लामो दाह्रीसहितका नूर हामीले कुरा गर्दै गएपछि केही मुस्कुराउँदै अनि घरीघरी लजाउँदै गए ।

हिंसाका कारण छोड्न परेको म्यानमारको सम्झना गर्दा निराश देखिएका उनी यहाँ जोडिएको सम्बन्धको कुरा खुल्दै गएपछि उज्यालिए । एक्लै हुँदा जीवनको अगाडिका सम्भावनाहरु धमिलो लाग्ने गरेकोमा नुरलाई साहिरा बेगमसँगको साथपछि नयाँ विकल्पहरु खुलेजस्तो भयो ।

नूरलाई अहिले नेपालको बसाई प्यारो लाग्न थालेको छ । कहिले काहिँ उनी ससुराली जान्छन्, त्यहाँको माया–स्नेहले देश छोड्दाको पीडामा केही मल्हम लगाएको छ ।

आमा रोगी छन्, साथमै राखेर स्याहार गर्न पाएकोमा केही सन्तुष्टि पनि देखिन्थ्यो नुरको अनुहारमा । नूरलाई एउटै कुरा अपूरो छ, बंगलादेशमा रहेकी दिदीलाई भेट्ने मन छ ।

यस्तै यहाँको बसाई रमाइलो छ र पनि देश फर्किने अनि आफ्नै माटोमा जीवन चलाउने रहर छ । यहाँ जोडिएको साहिरासँगको सम्बन्धलाई आफ्नै माटोमा लगेर फैलाउने भित्रि इच्छा रहेछ नूरको ।

यस्तै कुरा गर्दा गर्दै नमाजको बेला भएपछि उनी चौतारीबाट उठ्न खोजे । केही बेर चौतारीबाट तलको बस्तीमा एकोहोरो हेरिरहे अनि शिविर तिर लागे, नेपाल आएर सम्बन्धको गाँठो जुटे पनि घरबाट टाढाको घरबार त्यति रमाइलो हुँदैन, नूरले त्यो अनुभव गरेका छन् ।

(नेपालमा शरण लिइरहेका रोहिंग्या शरणार्थीहरुबारे टंक ढकालले चार भागमा विशेष रिपोर्ट तयार गरेका छन्। हामीले हरेक दिन देश सञ्चारमा रोहिंग्या शरणार्थीबारेका विशेष रिपोर्ट प्रकाशित गर्दै आएको छौँ । आज प्रकाशित रिपोर्ट चौथो भाग हो । यसका सबै तस्बिर र भिडियोहरु बर्षा शाहले खिचेकी हुन्।)

असोज १६, २०७५ मा प्रकाशित