समाचार संकलनमा निषेध नगर्न पत्रकार महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले समाचार संकलनमा पत्रकारलाई निषेध गरेकाे घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका महासचिव रमेश बिष्टद्वारा मंगलबार जारी विज्ञप्तिमा समिति सभापति शशी श्रेष्ठले सोमबारको समितिको बैठकमा समाचार संकलनका लागि पुगेका पत्रकारलाई निषेध गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।

सभापति श्रेष्ठले राज्यको महत्वपूर्ण विषयमा हुने छलफलमा सञ्चारजगतको प्रवेश राम्रो नहुने जिकिर गर्दै पत्रकारलाई रोकेकी थिइन्।

‘नागरिकलाई सुसूचित गराउने कार्यमा पत्रकारलाई सहयोग गर्नुको साटो समाचार संकलनमा निषेध गरिएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो’, विज्ञप्तिमा भनिएको छ – ‘महासंघ राज्यको जिम्मेवार व्यक्तित्वबाट भएको यस्तो कार्यको कडा भर्त्सना गर्दछ।’

महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई संवैधानिक स्वतन्त्रताको सुनिश्चितता प्रदान गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्