कर्मचारी सरुवामा भाडभैलो, भनसुन गरेर आएकाहरुले हाजिर गर्न पाएनन्

सांकेतिक तस्बिर

नेपालगञ्ज – बाँकेको वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी दरबन्दी खाली थिएन । त्यहाँ तीन जना अनमी सरुवा लिष्ट लिएर आइपुगे । दरबन्दी नै खाली नभएको ठाउँमा आएका तीन जना कर्मचारीको हाजिर हुने कुरै भएन । ‘पायक’ पर्ने ठाउँ भन्दै ‘मिलाएर’ आएका कर्मचारीहरुले हाजिर गर्न पाएनन् ।

बाँकेकै रझेनामा एकजनाको दरबन्दी खाली थियो । त्यहाँ पनि तीन जना आइपुगे । तीन जनामध्ये जो पहिला आए, उसले हाजिर हुने मौका पाए । देवेन्द्र केसीले पहिला आएर हाजिरी गरिहाले । गणेशबहादुर शाही र नन्दा गिरीले हाजिरी हुन पाएनन् ।

पुरैनामा पनि एक जनाको दरबन्दी खाली थियो । तीन जना नै आइपुगे । सुरुमा आइपुगेकी लक्ष्मी थापा हाजिरी भइन् । अरु दुई जना अन्यत्र लागे । त्यस्तै, जिल्लाको कचनापुरमा एकजनाको दरबन्दी थियो, दुई जना आइपुगे । बसुदेवपुरमा दुई जनाको खाली थियो । तीन जना आइपुगे । सबै ठाउँमा जो पहिला आइपुगे, उसले हाजिर हुने मौका पायो ।

आखिर किन यस्तो भयो ? जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगञ्जका अधिकृत रामबहादुर चन्दले मन्त्री, सचिव र डिजीले आ–आफ्नै तालले सरुवा गर्दा यस्तो भएको हो । ‘भनसुनका आधारमा सरुवा गरियो, हचुका भरमा सरुवा गर्दा यस्तो भयो, नेकपानिकट स्वास्थ्य कर्मचारी संगठनका नेतासमेत रहेका चन्दले भने । उनका अनुसार, देशैभर यस्तो गञ्जागोल तरिकाले सरुवा गरिएको छ । दाङ लमहीमा एकजनाको दरबन्दी खाली रहेकोमा ६ जनासम्म आएको उनले स्मरण गराए ।

पायक पर्ने ठाउँमा भन्दै सरुवा मिलाएर आएकाहरुले त्यो ठाउँमा अर्को पनि आएको छ भन्ने थाहा पाएपछि रातारात पुगेका थिए । एक स्वास्थ्यकर्मीले हाँस्दै भने, सरुवा भएको उसलाई मैले राती नै तयार हुन भनेर बिहानै मोटरसाइकलमा राखेर लगे । कार्यालय खुलेको केहीबेरमा हामी पुगेका थियौ, हामी पुग्दा त अर्कैले दश मिनेट अघि नै हाजिरी गरिसकेका रहेछन् । हिस्स भएर फर्कियौं ।’

यसरी सरुवा भएर आएकामध्ये जो पहिला पुग्यो, उसले हाजिर हुन पायो । हाजिर हुन नपाएकालाई नजिकको खाली भएको ठाउँमा हाजिर गराउने काम भएको थियो । पछि त त्यस्ता ठाउँ पनि सिधिए । चन्दका अनुसार, अहिले हाजिर हुन नपाएकाहरु फिर्ता भइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले हालै एकैपटक एक हजार सात कर्मचारीहरु एकैपटक सरुवा गर्दा यस्तो भाडभैलो मच्चिएको हो । कतिपय कर्मचारीहरु त अहिले पनि हाजिर गर्न भन्दै जिल्लामा आइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत चन्दले बताए ।

कर्मचारीको सरुवा अस्तव्यस्त भएपछि स्वास्थ्य मन्त्रालयले एउटा छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सूचना अधिकृत महेन्द्र श्रेष्ठको संयोजकत्वमा किन यस्तो भयो भन्ने बुझ्न समिति बनाएको हो । समितिले प्रतिवेदन बुझाएपछि वास्तविकता बाहिर आउने सम्बद्धहरु बताउँछन् ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्