कृषि क्षेत्रको विकास पहिलो प्राथमिकता- मुख्‍यमन्त्री राई

मोरङ-आर्थिक विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

विराटनगरमा आइतबार उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर एकद्धारा आयोजित कृषि क्षेत्रको विकासमा सरकारी र नीजि क्षेत्रको भूमिका कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको समृद्धिका लागि कृषि क्षेत्रको विकास अहम रहेको र कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गरेका छन्।

कृषि क्षेत्रको विकासका लागि सरकारी निकाय र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका मुख्यमन्त्री राईले यस क्षेत्रको प्राथमिकतामा परेका कार्यक्रमहरुको कार्यान्वयन गर्न सहयोग पुग्ने स्पस्ट पारे।

प्रदेशमा अवस्थित पहाडी तथा तराई क्षेत्र जडिबुटी, तरकारी र अन्न उत्पादनको भण्डारणको रुपमा रहेको बताउदै मुख्यमन्त्री राईले प्रदेश एकको उर्बरभूमिलाई सदुपयोग गर्दै आत्मनिर्भर हुनसकिने स्पस्ट पारे। कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको जानकारी दिर्दै, राइले भने, कृषिक्षेत्रलाई उद्योगको रुपमा बिकासगर्ने तथा रोजगारी श्रृजना गर्ने बिषयमा समेत प्रदेश सरकारको ध्यान केन्द्रीत रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले कृषि क्षेत्रपछि पर्नुको पछाडि रहेका कारणको सुक्ष्मरुपमा विश्लेषण हुनुपर्नेमा जोड दिए। यसको विकासका लागि भूमि उपयोग नीतिमा सरकार स्पस्ट हुनुपर्ने उपाध्यक्ष प्रधानको भनाइ छ।

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकार विकास सहयोगको संयुक्त सम्झौतामा संचालित कार्यक्रममा स्वीस राजदुत एलिजाबेथ भोन केपलरलेसले कृषिमा जोडिएका रोजगारी र आय आर्जन हुन सक्ने संभावनाबारे प्रस्टाएकी थिइन्।

ब्यवसायिक कृषि प्रवद्र्धनमा प्रदेश नम्बर एक अग्रस्थानमा रहेको बताएकी राजदुत एलिजावेथले भनिन्, कृषिमा नीजि क्षेत्र र सरकारी क्षेत्रको संयुक्त योगदानबाट आर्थिक विकास हुनेमा विश्वस्त रहेकी छु। यसका लागि स्वीस सरकार विकास सहयोग गर्न तयार रहेको छ।

असोज १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्