एकीकृत कम्युनिष्ट पार्टी बनाउने घोषणाको एक वर्ष

‘सुदृढ वाम’ को बाटोमा ओली–प्रचण्ड र लगत्तै अलग भएका भट्टराई

(फाइल तस्बिर) एक वर्षअघि चुनावी तालमेल र अन्ततः पार्टी एकता गर्ने घोषणा गरेका तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका नेताहरु ।

काठमाडौँ – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भई नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको चार महिना पुगिसकेको छ ।

नेकपाको औपचारिक घोषणा भएको चार महिना बिते पनि तत्लो तहसम्म पार्टीको एकताले पूर्णता पाउन सकेको छैन भने केन्द्रीय स्तरमै नेताहरुबिच मतभेदको शृङ्गला बढ्दै गएको छ ।

नेकपामा गुटको राजनीति मौलाएको देखिएको र यसले पार्टीको भविष्य तथा साँचो अर्थको एकीकृत पार्टीको परिकल्पनामा असर गर्ने भन्दै चिन्ता व्यक्त भइरहेका छन् ।

एकीकृत पार्टी बन्ने यो प्रक्रियाको पहिलो औपचारिक घोषणा भएको बुधबार ठ्याक्कै एक वर्ष पूरा भएको छ । गएको वर्ष (२०७४ साल असोज १७ गते) तत्कालीन एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले चुनावी तालमेलदेखि पार्टी एकतासम्म पुग्ने घोषणा राष्ट्रिय सभागृहको मञ्चमा उभिएर गरेका थिए ।

चुनावी तालमेल तथा एकताको प्रक्रियामा अन्तिममा सामेल हुन पुगेको नयाँ शक्ति नेपाल केही समयपछि गठबन्धनबाट बाहिरियो ।

त्यसपछि बाँकी रहेका एमाले र माओवादी केन्द्रले अरु केही साना दललाई साथमा लिएर सँगै चुनाव लडे अनि गएको जेठ तीन गते विविध आशंकाहरुलाई चिर्दै पार्टी एकताको घोषणा गरे र बनाए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । नेकपाको जन्मको जगको औपचारिक थालनी वा घोषणा भएको बुधबार (२०७५ साल असोज १७ गते) एक वर्ष पूरा भएको छ ।

स्थानीय तहको चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी केन्द्रले गएको मंसिरमा भएको प्रदेश तथा संघको चुनावका लागि विचार मिल्ने एमालेसँग तालमेलको घोषणा गरेको थियो एक वर्षअघि । त्यसको फलस्वरुप दुई पार्टीले चुनावमा राम्रो जित निकाले ।

चुनाव सकिए लगत्तै पार्टी एकताको घोषणा गर्ने भनिएको भए पनि पद बाँडफाँड र सिद्धान्तमा कुरा नमिल्दा घोषणा ढिलाई भएको थियो । तर चुनावी तालमेलसहित अन्ततः पार्टी एकता गर्ने पहिलो औपचारिक घोषणा गरेको ८ महिनापछि गएको जेठमा दुई पार्टीबिच एकता भयो ।

अब त्यो घोषित एकताले साँचो अर्थमा एकीकरणको रुप लिन बाँकी नै छ । स्थानीय तहसम्मकै पार्टी एकीकरण तथा पार्टी भित्र बढ्दै गएको गुटको राजनीति अन्त्य गरेपछि मात्रै एकताले पूर्णता पाउने नेताहरुको भनाई छ ।

अब पार्टी एकतालाई सुदृढ बलाउनका लागि लाग्नु पर्ने र त्यसका लागि पार्टीमा बढी भन्दा बढी छलफल र विमर्श हुनु पर्ने नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

प्रधानमन्त्री तथा नेकपाका दुई अध्यक्ष मध्ये एक केपी शर्मा ओली अमेरिकासहितको भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि छलफलले तीव्रता पाउने नेता प्रकाशले बताए ।

उनले भने, ‘अबको खाँचो भनेको पार्टी एकतालाई सुदृढ बनाउने हो, त्यसका लागि अहिले पार्टी भित्र देखिएको केही बेमेललाई व्यवस्थापन गर्नुपर्छ र यसको उत्तम विकल्प भनेको छलफल नै हो ।’ यस्तै अबको छलफल सरकारलाई सफल कसरी बनाउने भन्नेमा पनि केन्द्रित हुने उनले बताएका छन् ।

एक वर्षअघि चुनावी तालमेल र अन्ततः पार्टी एकता गर्ने घोषणा गर्दा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसँगै मञ्चमा उभिएका थिए । उनीहरुले हातमा हात थामेर एकीकृत कम्युनिष्ट बनाउने प्रण गरेका थिए त्यो बेला ।

प्रण गरेको केही समयपछि नै नयाँ शक्तिका डा. भट्टराई गठबन्धनबाट बाहिरिए । उनी अहिले वामपन्थ नै छोडेको अवस्थामा पुगेका छन् । डा. भट्टराई पछिल्लो समय बुद्ध र बिपीको नीतिको अनुयायीका रुपमा देखिएका छन् ।

तर ओली र प्रचण्डले भने वामपन्थकै डोरी समातेका छन् र यसलाई ‘सुदृढ वाम’ भनिएको छ । पार्टी एकताको यो प्रक्रिया र ‘सुदृढ वाम’ बनाउने अभियानमा देखिएका अवरोधहरुलाई ओली–प्रचण्ड मेलले कसरी सार्थकतामा लैजान आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्नुको विकल्प छैन ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्