अत्तरियामा जलाइयो कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै बुधबार बिहान पत्रिका जलाइएका छन् । अत्तरियाका युवाहरुले कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिका गाडीबाट थुतेर जलाएका हुन् ।

नेपालगञ्जबाट सुदूरपश्चिम प्रदेशमा पत्रिका ल्याउने क्रममा बुधबार बिहानै अत्तरिया चोकमा पत्रिका जलाइएको हो । गत शुक्रवार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले ‘जंगल मासेर राजधानी बनाउदा पर्यावरणमा गम्भीर असर पुग्ने,’ ‘चुरे क्षेत्र खतरामा,’ ‘बाघको बाटोमा राजधानी’ लगायतका शिर्षक दिएर समाचार लेखेका छन् ।

तर ति समाचारहरु गोदावरी राजधानीका विरुद्ध नियोजित रुपमा प्रकाशन गरिएको आरोप लगाउदै अत्तरियाका युवाहरुले पत्रिका जलाएका हुन् ।

समाचारको विषयलाई लिएर पत्रिका जलाएको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले भने, ‘यो कार्य अत्यन्तै निन्दनीय हो । पत्रिका जलाउनेलाई कडा कारबाही हुनुपर्छ ।’

‘राजधानी कहाँ हुनुपर्छ भन्ने हाम्रो सरोकारको विषय हैन । त्यसले फाईदा घाटा के गर्छ, वातावरणमा कस्तो असर पार्छ भन्ने मुख्य सरोकारको विषय हो ।’ कान्तिपुर दैनिक प्रदेश व्यरोमा कार्यरत शाहले भने, ‘समाचारप्रति चित्त नबुझे अन्य कानुनी बाटो हुँदाहुँदै प्रेसमाथिको आक्रमण क्षम्य हुँदैन ।’

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्