समलिंगी विदेशी कूटनीतिज्ञ तथा राष्ट्रसंघीय कर्मचारीका पार्टनरलाई अमेरिकाले कूटनीतिक भिसा नदिने

अमेरिकाले समलिंगी विदेशी कूटनीतिज्ञ तथा संयुक्त राष्ट्रसंघमा कार्यरत कर्मचारीका पार्टनर तर्थात प्रेमी–प्रेमिकालाई अबदेखि कूटनीतिक भिसा नदिने भएको छ । यो नियम सोमबारदेखि लागु भएको छ ।
अहिले कूटनीतिक भिसामा अमेरिकामा रहेका समलिंगी कूटनीतिज्ञ तथा संयुक्त राष्ट्रसंघका कर्मचारीका पार्टनरलाई अमेरिका छोड्न आउँदो डिसेम्बर ३१ सम्मको समय दिइएको छ ।
यो अवधिमा अमेरिका छाड्न वा विवाह गर्न या कूतनीतिक भिसालाई अर्को भिसामा परिवर्तन गर्न भनिएको छ । सन् २००९ मा लागु भएको नियम अनुसार समलिंगी कूटनीतिज्ञ तथा युएन कर्मचारीका पार्टनरले कूटनीतिक भिसा (जी–फोर भिसा) पाउने गरेका थिए ।
अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले त्यसलाई उल्ट्याएको हो । हाल विश्वका २५ देशमा समलिंगी विवाहले कानुनी मान्यता पाएका छन् । अझै पनि विश्वका ७१ देशमा समलैंगिकतालाई अपराध वा अवैध मानिन्छ ।
अमेरिकाको विदेश विभागले कानुनी रुपमा विवाह गरेको प्रमाणित हुने भएको अवस्थामा मात्रै कूटनीतिक भिसा दिन सकिने स्पष्ट पारेको छ । गएको जुलाई १२ मा संयुक्त राष्ट्रसंघमा अमेरिकी मिसनले समलिंगी कूटनीतिज्ञ तथा युएन कर्मचारीका पार्टनरले अरुले जस्तै कूटनीतिक भिसा पाएको भन्दै यो समानताको पक्षमा राम्रो उदाहरण रहेको दाबी गरेको थियो ।
तर अहिले नियम परिवर्तन भएको छ । धेरैले अमेरिकाको यो निर्णयको विरोध गरेका छन् । अझै पनि अधिकांश देशमा समलिंगी विवाहलाई मान्यता नदिइएकाले अमेरिकी निर्णय अन्याय पूर्ण रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी दूत सामन्था पावरले नयाँ नीति अनावश्यक, क्रुर तथा दूराग्रह रहेको बताएकी छन् ।
Needlessly cruel & bigoted: State Dept. will no longer let same-sex domestic partners of UN employees get visas unless they are married. But only 12% of UN member states allow same-sex marriage. https://t.co/MjZpRVLYcf
— Samantha Power (@SamanthaJPower) September 28, 2018
एलजिबिटी समुदायको समानताका लागि संयुक्त राष्ट्रसंघका वकालत गर्दै आएको युएन–ग्लोबले ट्रम्प प्रशासनको नयाँ नीति दूर्भाग्यपूर्ण रहेको बताएको छ ।
नयाँ नीति अनुसार यो वर्षको अन्त्यसँगै अहिले अमेरिकामा रहेका समलिंगी कूटनीतिज्ञ तथा संयुक्त राष्ट्रसंघीय कर्मचारीका अविवाहित पार्टनरहरुले ३० दिनभित्र देश छोड्नु पर्ने हुन्छ यदी यो अवधिमा उनीहरुको कानुनी रुपमा विवाह भएन वा भिसाको स्वरुप परिवर्तन गरेनन् भने ।