निर्मला बलात्कार र हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजियोः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा।

चितवन – गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन्।

थापाले सरकारले निर्मला हत्याको घटनाका सम्बन्धमा छानबिन गरिरहँदा पनि त्यसलाई उचालेर राजनीतिक रुप दिन खोजिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले बलात्कार र हत्याको घटनाका दोषीलाई कानुनी कारबाही गर्न अझै केही समय लाग्ने पनि बताए। ‘कयौं अपराधका घटनामा संलग्नहरु १३ वर्षपछि पनि कठघरामा आएका छन्’, उनले भने।

गृहमन्त्री थापाले बलात्कार, हत्या लगायतका जघन्य अपराधका ९० प्रतिशतभन्दा बढी घटनाका दोषीलाई सरकारले कारबाही गरेको र निर्मला प्रकरणका दोषीलाई पनि छिट्टै कानुनको कठघरामा उभ्याउने प्रतिवद्धता पनि दोहोर्याएका छन्।

थापाले सरकारले मुलुकको समृद्धिका लागि महत्वपूर्ण आधारहरु तयार पारेको दावी पनि गरेका छन्। उनले भारत र चीनसँग मुलुकको समृद्धिका लागि सरकारले महत्वपूर्ण समझदारी गरेको बताएका छन्।

त्यसैगरी, सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक कानुनहरुको निर्माण गर्ने, स्थानीय तह र प्रदेश तहको संरचना पनि तयार गरेको गृहमन्त्री थापाले बताएका छन्।

गृहमन्त्री थापाले भारतसँग गरिएको समझदारी अनुसार नेपालमा छिट्टै रेल सेवा पनि सञ्चालनमा आउने दावी गरेका छन्।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्