संसदको राज्य व्यवस्था समिति बैठक

अमरेशले ‘प्रहरी सबैभन्दा भ्रष्टाचारी’ भनेपछि नवराज सिलवालको आपत्ति

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले नेपाल प्रहरीलाई नेपालको सबैभन्दा भ्रष्ट संस्था भनेपछि नेकपाका सांसद तथा पूर्व डिआईजी नवराज सिलवालले आपत्ति जनाएका छन् ।

संसदको राज्य व्यवस्था समितिमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको भ्रष्टाचार सम्बन्धी छलफलका क्रममा सिंहले नेपाल प्रहरी सबैभन्दा भ्रष्ट संस्था रहेकोले प्रहरी संगठनमाथि अख्तियारले आँखा लगाउनुपर्ने धारणा राखेका थिए ।

सिंहको उक्त भनाई प्रति पूर्व डिआईजी समेत रहेका नेकपाका सांसद नवराज सिलवालले आपत्ति जनाएका हुन् ।

छलफलमा बोल्दै सिलवालले भने ‘माननीय अमरेशकुमार सिंह ज्युले नेपाल प्रहरी सबैभन्दा भ्रष्टाचारी भन्नुभो तर उहाँको यो कुरा सरासर गलत छ, अख्यितारको तथ्याङक अनुसार सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा हुने गरेको हामीले पाएका छौँ ।

‘त्यसो भए प्रहरी कसरी सबैभन्दा ठूलो भ्रष्टाचारी ?’ सिलवालले प्रश्न गरे ।

सिलवाल आईजीपी बन्न नपाएपछि नेपाल प्रहरीबाट राजीनामा दिएर राजनीतिमा आएका थिए । गत चुनावमा उनी ललितपुर ३ बाट चुनाव जितेर सांसद बनेका हुन् ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्