प्रधानमन्त्री ओली स्वदेश फर्किन ट्रान्जिटका लागि न्यूयोर्कमा

केपी शर्मा ओली।

न्यूयोर्क-प्रधानमन्त्री केपी शर्मा ओली मध्यअमेरिकी मुलुक कोस्टारिकाको औपचारिक भ्रमण पूरा गरी न्यूयोर्क पुगेका छन्।

कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोस्टारिकाको भ्रमणमा गएका ओली नेपाल फर्किने क्रममा न्यूयोर्क पुगेका हुन्।

कतार हुँदै बिहीबार स्वदेश फर्किन लागेका प्रधानमन्त्री ओली ट्राञ्जिटका लागि न्यूयोर्क पुगेका हुन्। संयुक्त राज्य संघका लागि नेपालको स्थायी नियोगले बुधबार एक विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो।

ओलीका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहेकी छिन्। कोस्टारिकामा रहँदा प्रधामन्त्री ओलीले कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग भेटवार्ता गर्नुका साथै दुई देशबीच सहकार्यको सहमति गरेका थिए।

त्यसैगरी, शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि पनि ओलीले ग्रहण गरेका थिए।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका स्थायी नियोगले जनाएको छ।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्