शेरबहादुर देउवाविरुद्ध खनिए शेखर कोइराला

‘सभापतिलाई अधिकार दिएर मात्रै पार्टी चल्दैन’

डा. शेखर कोइराला।

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रित गर्न नहुने बताएका छन्।

सभापति शेरबहादुर देउवा छलफलबिना नै अघि बढ्न खोजी रहेको टिप्पणी गर्दै आएका डा. कोइरालाले पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर मात्रै चल्ने र सोहीअनुरुप चलाइनुपर्ने बताएका छन्।

गण्डक टोखा प्रजातान्त्रिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालाले विधान संशोधनको सुझाव लिँदा सभापतिमा अधिकार केन्द्रित गर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै भने, ‘यो गलत हो, ‘सभापतिलाई अधिकार दिएर मात्रै पार्टी चल्दैन।’

समन्वय वा समझदारी कायम गर्न नसक्नेले अधिकार पाएर मात्रै नहुने धारणा राख्दै यस्तो मनसाय राख्नेले सभापति हुने आकांक्षा नराखेपनि हुने जिकिर गरे। पार्टी एकजुट भएर संगठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको कोइरालाको धारणा थियो।

कोइरालाले संविधानको कार्यान्वयन, संघीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततः कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले अहिले सभापतिलाई अधिकार प्राप्त भएपनि पार्टीका गतिविधि सही ढंगले सञ्चालन हुनै नसकेको आरोप लगाएका छन्।

असोज १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्